झापाः झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगरभित्र होम आइसोलेसनमा रहेका सङ्क्रमितमध्ये जटिल अवस्था भएकाहरुलाई घरमै अक्सिजन सिलिन्डर पु¥याउने अभियान सुरु गरेका छन् ।

कनकाईमा हाल १६० कोभिड सङ्क्रमित होम आइसोलेसनमा छन । उनीहरुलाई आवश्यक पर्ने चिकित्सक, औषधि र अक्सिजन सिलिन्डर घरमै पु¥याउन सुरु गरिएको नगरप्रमुख पोखरेलले बताए । नगरमा २० शैय्याको आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको छ । होम आइसोलेसनमा रहेका नगरवासीलाई थप स्वास्थ्य सुविधा आवश्यक परेमा जुनसुकै बेला नगरको आइसोलेसन कक्षमा लैजाने व्यवस्था मिलाइएको र अझ बढी स्वास्थ्य सेवा जरुरत भएमा प्रदेश नं १ को जुनसुकै सुविधासम्पन्न अस्पतालमा पु¥याउने व्यवस्था नगरपालिकाले नै गरेको नगरका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए ।

नगरप्रमुख आफैँ अक्सिजनको सिलिन्डर बोकेर सङ्क्रमितको घरमा पुग्दा स्वास्थ्य सेवामा परिचालित स्वास्थ्यकर्मीको टोलीमा हौसला बढेको र नगरवासीमा आत्मबल उच्च भएको नगरका कोरोना फोकल पर्सन अधिकारीले बताए । -रासस