इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले हिजो (बुधबार) औपचारिक रुपमा उद्घाटन गरेको आइसोलेसनमा आज (बिहीबार) देखि संक्रतिहरुलाई राखिने भएको छ ।

उपमहानगरले ९ नम्बर वडामा रहेको रङ्गशालामा ५० बेडको आइसोलेसन सञ्चालन गरेको हो । बुधबार नै संक्रमित राखिने तयारी गरिएको भए पनि खाना र आवश्यक स्वास्थ्यकर्मी आउन ढिलाइ भएकाले बिहीबारदेखि मात्र संक्रमित राख्ने तयारी गरिएको हो । खानाको टेन्डर बुधबार टुङ्गो लागिसकेको छ । यस्तै यहाँ आवश्यक पूर्वाधार पनि जडान गरिएको छ । सुरक्षाको जिम्मा पाएको नेपाली सेना पनि बुधबारदेखि नै आइसोलेसनमा खटिएको छ ।

Covid Hospital Bed

 

अहिले त्यहाँ आइसोलेसन इन्चार्ज र स्वाब संकलनका लागि एक जना मात्र स्वास्थ्यकर्मी रहेकाले अन्य तीन जना स्वास्थ्यकर्मी थपिने भएको छ । जसमा स्टाफ नर्स एक जना र अनमी एक जनासहित तीन जना रहने छन् । कोरोनाको दोश्रो भेरियन्टको प्रभावलाई ध्यान दिएर उपमहानगरले १० ओटा अक्सिजनसहितको बेड जडान गर्ने भनेकोमा २५ बेड पुर्याएको छ । यस्तै सोही ठाउँमा महिला र पुरुषका लागि ३÷३ बेड गरी ६ बेडको कोभिड विशेष अस्पताल पनि सञ्चालन गरिएको छ । सामान्य आइसोलेसनमा २० बेड महिला र ३० बेड पुरुषका लागि छुट्याइएको छ ।