इटहरीः झापाको मेचिनगर नगरपालिका–१० टिकापुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचिनगर नगरपालिका १२ का ३० वर्षीय कुजैहाङ लिम्बू रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक सुमन तिम्सिनाका अनुसार गएराति ९ः१५ बजे बा ६३ प २७९० नम्बरको मोटरसाइकलमा सवार भई पूर्वबाट पश्चिमतर्फ आइरहेका लिम्बू मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रोकी राखेको भारतीय नम्बरको ट्रकसँग ठोक्किँदा गम्भीर घाइते भएका थिए ।
घाइते लिम्बूलाई उपचारार्थ बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा राति ९ः४५ बजे उनको ज्यान गएको डीएसपी तिम्सिनाले बताए । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।