इटहरीः इलाका प्रहरी कार्यालय धरान कोरोना संक्रमितको लागि आवश्यक अक्सिजन सिलिन्डरको खोजी तथा संकलनमा जुट्न थालेको छ ।

बुधबार धरान प्रहरीले धरान उपमहानगरपालिकाका विभिन्न ठाउँबाट २७ वटा अक्सिजन सिलिन्डर संकलन गरेको जानकारी दिएको छ । यसरी संकलन गरिएका सिलिन्डरहरु हाल विश्वव्यापी रुपमा फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो चरणको संक्रमणको रोकथाम तथा नियन्त्रणमा प्रयोग गरिने बताइएको छ । राज्यको सम्पूर्ण संयन्त्र पूर्ण रुपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीको केन्द्रीय नीति अनुरुप अक्सिजनको खाली सिलिन्डर संकलनमा जुटेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । प्रहरीले संकलन गरेको अक्सिजन सिलिन्डर धरानमा अक्सिजन बिक्रीवितरण गर्ने हिमगंगा अटो ट्रेडर्समा तीन थान र मनोकामना अटो ट्रेडर्समा २४ थान दिइएको जनाएको छ ।

साथै अहिले कोरोनाले आक्रान्त बनाएको यो अवस्थामा अक्सिजन अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकताभन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।