‘अहिले कस्तो छ अवस्था ? कि अझै समस्या छ ? रिपोर्ट त नेगेटिभ आयो नि ?’

तपाइँमध्ये कतिले आफ्ना आफन्त वा साथीभाइसँग पछिल्ला केही दिनदेखि यस्ता प्रश्न राख्दै आउनुभएको होला । हो, धेरैजसोले कोरोनाविरुद्धको लडाइँ जितिसके तर यसबाट मुक्ति भने अझै प्राप्त भइसकेको छैन ।

कोरोनामुक्त भएपछि कतिपय मानिसले अन्य समस्या पनि सामना गरिरहेका छन् । कसैलाई छिटै थकाइ लाग्ने त कसैलाई सास लिन समस्या भइरहेको होला । कसैलाई मुटुको समस्या त कसैलाई अन्य समस्याहरु देखिन थालेको सुन्न र देख्न पाइन्छ ।

चिकित्सकहरुका अनुसार पोस्ट कोडिभ केयर अर्थात कोरोनाबाट मुक्त भएपछि पनि स्वास्थ्यको ख्याल उति नै आवश्यक हुन्छ। हप्तौँ वा महिनौँसम्म पनि सतर्कता अपनाउन आवश्यक हुन्छ । नत्र सानो लापरबाहीले पनि ठूलो समस्या निम्याउन सक्छ ।

शरीरमा कोभिडको असर
धेरैजसो मानिसले कोभिडलाई सामान्य रुघाखोजीजस्तै बिरामी ठान्छन् । यसले केवल फोक्सोमा मात्र असर गर्ने सम्झिन्छन् । तर त्यस्तो होइन ।

कोभिड नयाँ संक्रमण हो । यसले शरीरका अन्य कुन–कुन अंगमा असर गर्छ भन्ने कुरा विस्तारै–विस्तारै बाहिर आइरहेका छन् । यसले मानिसको मुटु, दिमाग, मांसपेसी, धमिनी र नसा, रगत, आँखाजस्ता शरीरका अन्य अंगमा पनि असर गर्छ भन्ने कुरा पत्ता लागिसकेको छ । यही कारणले हृदयघात, डिप्रेसन, थकान, शारीरिक दुःखाइजस्ता समस्याको सामना संक्रमणमुक्त भएकाहरुले गरिरहेका छन् ।

त्यसैले चिकित्सकहरुले कोरोनामुक्त भएपछि शरीरमा देखिने त्यस्ता समस्यालाई नजरअन्दाज नगर्न सुझाव दिन्छन्। शरीरमा अन्य समस्या देखिनासाथ सल्लाहसुझाव लिन चिकित्सकहरुले आग्रह गर्दै आएका छन् ।

हल्का लक्षण भएको कोभिडबाट निको भएपछि के गर्ने ?

चिकित्सकहरुले हल्का लक्षण भएको कोभिड देखिएका धेरैजसो मानिसहरु घरमै ठिक भए पनि पोस्ट कोभिड केयर आवश्यक रहेको बताउँछन् । उनीहरु धेरैजसोमा शारीरिक कमजोरी, थकान, भोक नलाग्ने, दुःखाइ, शरीरको तापमान बढ्ने, डरजस्ता समस्या देखिने हुँदा निको भएपछि यस्ता समस्या देखिन सक्ने चिकित्सकहरु बताउँछन् ।

यसका लागि चिकित्सकहरुले यस्ता सुझाव दिएका छन् –
– यदि हल्का लक्षण देखिएको छ तर आफूलाई स्वस्थ महसुस गर्नुहुन्छ भने १४ दिन घरमै आइसोलेसन बस्न सक्नुहुन्छ ।
– निको भएपछि खानपानमा विशेष ध्यान दिनुहोस्। हरियो सागसब्जी र प्रोटिनयुक्त खाना धेरै खानुहोस् । यसले कोरोनाबाट कमजोर बनेको शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– खाना खान मन लाग्दैन भने पनि थोरै–थोरै गरी खानुहोस् । पानी पनि सही मात्रामा पिउनुहोस् ।
– नियमित योग तथा प्रणायाम गर्नुहोस् । एकैपटक थुप्रै काम नगर्नुहोस् ।
– संक्रमणमुक्त भएको १५–३० दिनसम्म अक्सिजन, ज्वरो, रक्तचाप, सुगरको नियमित जाँच गर्नुहोस् ।
– भरसक तातो वा मनतातो पानी पिउनुहोस् । दिनमा २ पटक बाफ अवश्य लिनुहोस् । कम्तीमा ८ देखि १० घन्टा अवश्य सुत्नुहोस् ।
– संक्रमणमुक्त भएपछि हरेक ७ दिनमा चिकित्सकसँग अवश्य स्वास्थ्यजाँच गराउनुहोस् ।

चिकित्सकहरुले संक्रमणमुक्त भएको बताएको १०–१५ दिनभित्रै नियमित काममा फर्किन सकिन्छ । तर चिकित्सकले कुनै औषधि खान सल्लाह दिएका छन् भने अवश्य खानुहोस् । नियमित चिकित्सकको सल्लाह पनि लिनुहोस् ।

कोरोनामुक्त भएकाहरु धूमपान र मद्यपानबाट टाढै बस्नुपर्ने चिकित्सकहरु सल्लाह दिन्छन् ।

कम गम्भीर र धेरै गम्भीर लक्षण भएका बिरामीले कोरोनामुक्त भएपछि के गर्ने ?
– कम गम्भीर र धेरै गम्भीर लक्षण भएको कोरोना संक्रमणबाट मुक्त भएका बिरामीहरुले शरीरमा पानीको मात्रा सही राख्नका लागि तरल पदार्थ सेवनमा बढी जोड दिनुपर्छ ।
– ताजा खाना नै खानुपर्छ ।
– शारीरिक थकान हुने गरी एकैपटक धेरै काम गर्नुहुन्न ।
– यस्ता बिरामीलाई पूर्ण रुपमा निको हुन ३ महिनासम्म लाग्ने भएकोले आराम गर्नु नै ठीक हुन्छ ।
– निको भएपछि व्यायाम र प्राणायाम गरेर दिनको सुरुआत गर्नुपर्छ ।
– यस्ता बिरामीले निको भएपछि नियमित रुपमा शरीरमा अक्सिजनको मात्रा चेक गर्नुपर्छ । चिकित्सकको सल्लाहबमोजिम अन्य जाँच पनि नियमित राख्नुपर्छ ।
– मानसिक तनाव लिनुहुन्न ।
– चिकित्सकको रायसल्लाहअनुसार दिनचर्या बनाउनुपर्छ ।
– केही बिरामीको निको भएपछि मांसपेसी कमजोर भएको हुन सक्छ । यस्तोमा प्रचूर मात्रामा प्रोटिनयुक्त खाना खानुपर्छ ।
– केही बिरामीमा निको भएपछि पनि औषधिको साइड इफेक्ट हप्तौँसम्म रहन सक्छ । त्यसैले निको भएपछि नियमित रुपमा शरीरमा देखिने समस्याका विषयमा चिकित्सकसँग रायसल्लाह लिनुपर्छ ।
– संक्रमणमुक्त भएपछि चिकित्सकको नियमित फलोअप परीक्षणमा जानुपर्छ । कुनै जाँच गर्नुपर्ने भए गर्नुपर्छ ।
– मास्क अनिवार्य रुपमा लगानुपर्छ । हात बारम्बार धनुपर्छ। सामाजिक दूरी कायम गर्नुपर्छ ।

-बीबीसीबाट