इटहरीः सुनसरीको इटहरी उपमहागनरपालिकाले आज (बुधबार)देखि ५० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ ।

गत वर्ष १०० बेडको आइसोलेसन सञ्चालन गरेको उपमहानगरले यो वर्ष भने ५० बेडको मात्र आइसोलेसन सञ्चालन गरेको हो । उपमहानगरले ९ नम्बर वडामा रहेको रंगशालामा आइसोलेसन सञ्चालन गरेको हो । केही समयअगाडि नै सञ्चालनको कुरा चलेको भएपनि सुरक्षा र खानाको कारण देखाउँदै उमहानगरले आइसोलेसन सञ्चालन गर्ने सकेको थिएन । आजबाट नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीबाट सुरक्षाकर्मी आइपुगेका छन् । यस्तै खानाको व्यवस्थापनका लागि उपमहागनरले सात दिनको सूचना नै निकालेको थियो । आइसोलेसन सञ्चालनको सम्पूर्ण पूर्वतयारी पूरा भएकाले आजबाट आइसोलेसन सञ्चालन गरिएको उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । ‘यो ढिलो सञ्चालन हुनुको कारण के हो भने, यहाँ सीसी टीभी, वाईफाई र बेडको जडान गर्ने काम सुरक्षाकर्मी आएपछि मात्र उहाँहरुले गाइड गरे अनुसार गर्नुपर्ने हुन्छ । एक हप्ताअगाडि नै डीसीसीएमसीलाई सुरक्षाको टोली पठाउन हामीले पात्रचार गर्यौँ । तर त्यो टोली अस्ति मात्र आयो’, उनले भनिन् ।

बुधबार मात्र नगरले यहाँ आवश्यक पर्ने र अपुग सामान ल्याएको छ । यसका साथै अक्सिजन सिलिन्डर पनि बुधबार मात्र आइसोलेसन सेन्टरमा आइपुगेको छ । उपमहानगरले अहिले ५० बेडको आइसोलेसनमा २० बेड महिला र ३० बेड पुरुषका लागि छुट्याएको छ । यसअघि १० बेडको अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्ने भनेपनि उपमहानगरले अहिले २५ बेड अक्सिजन राखेको छ । यसका साथै ६ बेडको कोभिड विशेष अस्पताल पनि उपमहनगरले सञ्चालनमा ल्याएको छ । रंगशालाको पूर्वपट्टिको प्यारापिमुनिको भागलाई ३ पुरुषका लागि र ३ महिलाका लागि कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याइएको हो । आजैबाट यहाँ संक्रमितलाई राख्ने तयारी रहेको उप प्रमुख गौतमले बताइन् । अहिलेसम्म रंगशालाको भित्र हुँदै आएको स्वाव संकलनलाई भने बिहीबारदेखि प्रवेशद्वारमा सारिने भएको छ । यस्तै कराँतेको हललाई सुरक्षाकर्मीको आवसगृह बनाइएको छ भने जेष्ठ नागरिक भवनलाई औषधि तथा उपकरण भण्डारण गृह र स्वास्थ्यकर्मी तथा सफाइ कर्मचारीका लागि आवासगृह बनाइएको छ ।

यस्तै, रंगशालाको खुल्ला ठाउँमा दैनिक बिहान योगा तथा मनोरञ्जनका लागि प्रयोग गरिने भएको छ । गत वर्ष कोरोना देखिएका सबैलाई आइसोलेसनमा राख्ने गरेकोमा यो वर्ष भने नगरले फरक नीति अवलम्बन गरेको छ । आफ्नै घरमा होम वा सेल्फ आइसोलेसनमा बस्न सक्नेबाहेक अन्यलाई मात्र यो आइसोलेसनमा राख्ने तयारी रहेको गौतमले बताइन् । यसका साथै गतवर्ष निको नभएसम्म आइसोलेनमा राख्ने गरेकोमा यो वर्ष भने प्रभावलाई हेरेर अगावै घर फर्काइने बताइन् । अहिले यहाँ शिवकुमार झाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । त्यो टोलीले यहाँ संक्रमितको उपचार र स्वाब संकलन गर्नेछ ।