इटहरीः मोरङमा आज एकैदिन ११ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

मृत्यु हुनेहरुमा कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना, न्युरो अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना, विराट मेडिकल कलेजको कोभिड उपचार केन्द्रमा उपचाररत दुई जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत चार जना गरी आठ जना तथा होम आइसोलेसनमा रहेका संक्रमित तीन जना गरी जम्मा ११ जना रहेका छन् । कोसी अस्पतालमा ज्यान गुमाउनेमा विराटनगर १२ का ८० वर्षीय ज्येष्ट नागरिक पुरुष रहेको अस्पतालका संयोजक एपोलो भगतले बताए । उनका अनुसार ती पुरुषको आज बिहान ज्यान गएको हो । यसैगरी, न्युरो अस्पतालमा ज्यान गुमाउनेमा विराटनगर ६ का ३९ वर्षीय पुरुष रहेका छन् । मंगलबार अस्पताल भर्ना भएका उनको आज दिउँसो ज्यान गएको हो ।

यसैगरी, नोबेल अस्पतालमा ज्यान गुमाउनेहरुमा सुनसरीको इनरुवा १ का ७५ वर्षीय पुरुष, सप्तरीकी ५५ वर्षीया महिला, विराटनगर ९ की ८० वर्षीया महिला र विराटनगर १० का ४६ वर्षीय पुरुष रहेका छन् । मृतकहरुमध्ये तीन जनालाई मंगलबार भर्ना गरिएको र विराटनगर १० का पुरुषलाई वैशाख २६ गते भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार सुनसरीका पुरुषको बिहान ३ः०० बजे, सप्तरीकी महिलाको बिहान ७ः०० बजे र विराटनगरका पुरुष र महिलाको बिहान ८ः०० बजे ज्यान गएको हो । यसैगरी, विराट मेडिकल कलेजमा ज्यान गुमाउनेहरुमा विराटनगर ९ का ५२ वर्षीय पुरुष र सिरहाको लहान १ का ८० वर्षीय पुरुष रहेको अस्पतालका कोभिड उपचार केन्द्र प्रमुख सुनिल देवले बताए ।

उनका अनुसार वैशाख १३ गते भर्ना भएका विराटनगरका पुरुषको बिहान १०ः०० बजे र मंगलबार भर्ना भएका सिरहाका पुरुषको अपराहन्न २ः०० बजे ज्यान गएको हो । यसैगरी, वैशाख १६ गते संक्रमित पुष्टि भएका विराटनगर १३ का ५८ वर्षीय पुरुष, वैशाख २७ गते संक्रमित पुष्टि भएका सुन्दरहरैँचा नगरपालिका १२ का ७९ वर्षीय पुरुष र जहदा गाउँपालिका ६० वर्षीय पुरुषको होम आइसोलेसनमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।