इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी निषेधाज्ञामा थप कडाइ गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले वैशाख ३१ गते मध्यराति १२ः०० बजेदेखि जेठ १५ गते मध्यराति १२ः०० बजेसम्म जिल्लामा औषधि पसल तथा अस्पतालबाहेक अन्य कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाइने आदेश जारी गरेको हो । कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण तिव्र रुपमा विस्तार हुँदै गएपछि सोको न्यूनीकरणका लागि वैशाख ३१ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरिएकोमा संक्रमणको दर हालसम्म उच्च रही मानवीय क्षतिसमेत भइरहेको अवस्थालाई मध्यनजर गर्दै जेठ १५ गतेसम्मका लागि अस्पताल बाहेकका अन्य व्यवसाय सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा जेठ १५ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबै सवारी साधनको सञ्चालनमा पूर्ण रुपमा बन्देज लगाइएको उल्लेख छ । मोटरसाइकल र सिटी सफारीसमेत सञ्चालन गर्न नपाइने गरी आदेश जारी गरिएको हो । अत्यावश्यक सवारी साधनहरु जस्तैः एम्बुलेन्स, दमकल, शव वाहन, खानेपानी, इन्धन, खाद्यान्न, तरकारी, फलफूल, दुध आदि बोक्ने सवारी विषय उल्लेख गरेर सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।

sunsari cdo1