इटहरीः संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा निर्माणाधीन अवस्थामा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट ढुङ्गा (लुज) खस्दा कामदारको मृत्यु भएको छ ।
आज बिहान ८ः३० बजे सुरुङभित्र काम गर्ने क्रममा अचानक ढुङ्गा(लुज) खस्दा कन्चनपुरको शुक्लाफाँट नगरपालिका–१२ घर भएका ३७ बर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो । सोही ढुङ्गाले लाग्दा अर्का कामदार ५० वर्षीय मिठु रानासमेत घाइते भएका छन् । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाई घटनाको विस्तृत अनुसन्धानमा जुटेको जिल्ला प्रहरी कार्यालय संखुवासभालाई उदृत गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।