इटहरीः खोटाङको जन्तेढुंगा गाउँपालिका ५ घोर्लेस्थित तारे भीरबाट अटो टेम्पो खस्दा एक बालकको घटनास्थलमै ज्यान गएको छ ।
मृत्यु हुनेमा सोही स्थानका १३ वर्षीय गोकुल परियार रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका बालक परियारलाई उपचारार्थ सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ ल्याउने क्रममा हिजो साँझ ५ बजे बाटैमा उनको ज्यान गएको हो । उक्त दुर्घटनामा परी टेम्पोका चालक जेन्तेढुंगा ४ का ३३ वर्षीय जीवन राई, चालककै छोरा ७ महिनाका शिशु जर्मन राई, जन्तेढुंगा ५ का १६ वर्षीय मणिराम राई र सोही स्थानका ६५ वर्षीय रत्नबहादुर राई घाइते भएका छन् ।
घाइतेमध्ये सामान्य अवस्थाका मणिरामको स्थानीय अस्पतालमा उपचार जारी छ भने अन्य घाइतेहरुलाई उपचारार्थ बीपी प्रतिष्ठान ल्याइएको डीएसपी तिम्सिनाको भनाइ छ । मंगलबार बिहान १० बजे घोर्लेबाट बिरामी बोकी चिसापानी आउने क्रममा लु.१ स. ०३५० नम्बरको अटोटेम्पा तारे भीरबाट अन्दाजी ५०० मिटर तल खसेको हो ।