इटहरीः आज नेपालमा पाँच हजार दुई सय २५ जना कोरोना संक्रमित निको भएका छन् ।

यससँगै देशभर निको हुने संक्रमितको कुल संख्या तीन लाख १२ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर नौ हजार चार सय ४३ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको मन्त्रालयको तथ्याङ्क छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएका २० हनार पाँच सय ९६ स्वाब नमुनाको पीसीआर तथा सात सय २० नमुनाको एन्टिजेन परीक्षणबाट सो संख्यामा संक्रमितको पहिचान भएको हो । देशभर हालसम्म पुष्टि भएका कुल संक्रमितको संख्या चार लाख १३ हजार एक सय ११ पुगेको छ । हालसम्म देशभर कुल २६ लाख ७२ हजार सात सय २६ परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, आज देशभर दुई सय २५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै देशभर मृतक संक्रमितको कुल संख्या चार हजार ८४ पुगेको छ । हाल देशभर ९७ हजारभन्दा बढी सक्रिय संक्रमितहरु रहेका छन् । यसैबीच, प्रदेश १ मा आज ५५ जना संक्रमित निको भएका छन् । यससँगै निको हुने संक्रमितको कुल संख्या ३० हजार तीन सय ५९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरी, आज प्रदेश १ मा नौ सय चार जना कोरोना सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्क छ । आज प्रदेश १ का विभिन्न प्रयोगशालामा एक हजार आठ सय जनाको पीसीआर परीक्षण गर्दा चार सय एक महिला र पाँच सय तीन पुरुष गरी नौ सय चार जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

मन्त्रालयका अनुसार सुनसरीमा एक सय ८०, मोरङमा चार ३१, झापामा दुई सय १४, धनकुटा र उदयपुरमा समान १८, इलाममा चार, पाँचथर र भोजपुरमा समान दुई, ताप्लेजुङ, सङ्खुवासभा र खोटाङमा समान एक र प्रदेश १ बाहिरका ३२ जनामा सङ्क्रमण देखिएको हो । यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३९ हजार आठ सय २४ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार आठ सय ८२ रहेको छ ।