इटहरीः उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौँको बसुन्धारामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गरेका छन् ।

निरीक्षणकै क्रममा उनले तत्कालै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेसन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिए । उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसैसाताबाट नेपाली सेनाले आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । तत्काल ८८ शैयाको अक्सिजन थेरापी सुविधासहित सञ्चालन हुन लागेको यो आइसोलेसन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकता अनुसार २ सय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौँ महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

यो आइशोलेसन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ । काठमाडौँमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेसन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने सोच बनाइको सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले बताए । निर्धक्क रुपमा बिरामीको उपचारमा लाग्न नेपाली सेनालाई आग्रह गर्दै उनले सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने बताए । उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिष्ट्रार महासेनानी डा. सुमनराज डंगोलले आइसोलेसन केन्द्रको बारेमा जानकारी दिएका थिए । निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल लगायतको पनि सहभागिता थियो ।