काठमाडौँः थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ ।

कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी उनलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रासमेत घटाउँदै लगिएको अस्पतालले जनाएको छ । पूर्व बडामहारानी कोमलको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको अस्पतालको भनाइ छ ।

यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्थामा निकै सुधार भएको छ । उनको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएकोमा त्यसको रिपोर्ट नेगेटिभ आएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्वराजा शाहलाई अक्सिजन दिन छोडिएको छ । उनको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।