इटहरीः सुनसरीको इटहरीमा सञ्चालनमा रहेका दुई वटा मेडिकलहरु कारबाहीमा परेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी र इटहरी उपमहानगरपालिकाले संयुक्त रुपमा इटहरीको तीन वटा मेडिकलहरुको अनुगमन गरेको थियो । इटहरीमा सञ्चालनमा रहेका इटहरी मेडिकल हल, विविता सर्जिकल हाउस र होम्ताङ्गा आयुर्वेदिक औषधालय पोलिक्लिनिकमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा बजार मूल्यभन्दा बढी मूल्यमा स्यानिटाइजर बिक्री गरेको भन्दै अनुचित व्यपारिक क्रियाकलाप कसूरमा विविता सर्जिकल हाउसलाई कारबाही गरिएको उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । यो मेडिकल पसलले भारतमा उत्पादन भएको स्यानिटाइजर यहाँ ल्याएर १०० प्रतिशतभन्दा बढी नाफा राखेर विक्री गरेको पाइएको उनले बताए । ‘इटहरीमा रहेको स्यानिटाइजरको थोक बिक्रेता विविता सर्जिकल हाउसले भारतीय बजारबाट रु ३९.३० रुपैयाँमा खरिद गरेको स्यानिटाइजर ८० रुपैयाँमा बिक्री गरेको हामीले भेट्यौँ’, उनले भने ।

त्यस मेडिकललाई उपभोक्त संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको पोखरेलले जानकारी दिए । साथै, अनुगमनमा अनुचित कारोबार भएको पाइएपछि नगद दुई लाख जरीवाना लिइएको उनले बताए । यस्तै बिल बिजकबिनानै औषधिको कारोबार गरेको भन्दै इटहरीमा सञ्चालनमा रहेको होम्ताङ्ग औषधालय पोलिक्लिनिकलाई कारबाही गरिएको छ । त्यस मेडिकललाई उपभोक्त संरक्षण ऐन २०७५ अनुसार बिल बिजक जारी नगरेको कसुरमा कारबाही गरिएको उनले बताए । ऐन बमोजिम पोलिक्लिनकलाई ३० हजार जरिवाना गरिएको छ । यस्तै इटहरी मेडिकल हलले खरिद र बिक्री मूल्यबीचको अन्तर कानून बमोजिम २० प्रतिशत राखेकाले कुनै कारबाही नगरिएको पोखरेलले बताए ।