इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका ५ तीनपैनीस्थित भित्री सडकखण्डमा सिटी सफारी दुर्घटना हुँदा सिटीमा सवार बालिकाको ज्यान गएको छ ।
आज बिहान ९ः३० बजे को१ह ७५५८ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सफारीमा सवार रहेकी सोही स्थान बस्ने रुद्र खड्काकी छोरी ५ वर्षीया बालिका रविना खड्का घाइते भएकी थिइन् । घाइते बालिकाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहान ११ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार सिटी सफारी र चालक सोही स्थानका हरिनारायण चौधरी प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेका छन् ।