इटहरीः धनकुटा र भोजपुरमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेहरुमा धनकुटाको धनकुटा नगरपालिका ५ घर भएका राजु श्रेष्ठका १० वर्षीय छोरा संजोग श्रेष्ठ र भोजपुरको पौवादुम्मा गाउँपालिका १ स्थित अरुणडाँडाका ३० वर्षीय निमा दावा शेर्पा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार धनकुटाका बालकलाई आफ्नै घरको बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा हिजो साँझ ६ बजे करेन्ट लागेको थियो । करेन्ट लागी गम्भीर घाइते भएका बालकलाई उपचारार्थ जिल्ला अस्पताल धनकुटा लगिएकोमा उनको उपचारका क्रममा राति ८ः१५ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।

यसैगरी, भोजपुर निमालाई आज बिहान १०ः३० बजे करेन्ट लागेकोमा उनको घटनास्थलमै ज्यान गएको हो । बिजुलीको लाइन बिग्रिएकोमा साथीहरुसँग भर्याङको सहायताले बिजुलीको पोलमा रहेको ट्रान्समिटरमा चढेपछि उनलाई करेन्ट लागेको हो । करेन्ट लागी अन्दाजी २५ फिट माथिबाट खस्दा उनको ज्यान गएको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय तिवारीभन्ज्याङबाट खटिएको प्रहरी टोलीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।