इटहरीः अहिले विश्वभर कोरोना भाइरसको महामारीले भयावह अवस्था सिर्जना भएको छ । नेपालमा पनि कोरोनाको दोश्रो भेरियन्ट तिव्र गतिमा फैलिरहेको छ ।

कोरोनाको यो तिव्र विस्तारलाई कम गर्न भन्दै सरकारले अहिले देशका अधिकांश जिल्लामा आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा लागु गरेको छ । सुनसरीमा पनि गत वैशाख १७ गते मध्यराति १२ बजेदेखि आंशिक रुपमा निषेधाज्ञा लागु भएको थियो । यो समयमा सुनसरीमा होटल व्यवसाय बिहान ८ बजेदेखि राति ८ बजेसम्म र खाद्यान्नका पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्न दिइएको थियो । यसका साथै सावारी आवतजावतलाई कम गर्न सवारी साधनमा जोर बिजोर प्रणाली पनि लागु गरिएको थियो । यसरी लागु गरिएको निषेधाज्ञालो सुनसरीमा कोरोना संक्रमण नियन्त्रणमा खासै प्रभाव नपरेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सुनसरीको वैशाख २० गतेको बैठकले सुनसरीमा २१ गतेको मध्यराति १२ बजेदेखि पूर्ण रुपमा निषेधाज्ञा लागु गरेको छ । मंगलबार सुनसरीमा पूर्ण निषेधाज्ञा लागु भएको ८ औँ दिन पूरा भएको छ । डीसीसीएमसीले गरेको त्यो निर्णयसँगै सुनसरीमा सावरी साधनको चाप पातलिएको छ । यसका साथै होटल तथा खाद्यान्नका पसलहरु पूर्ण रुपमा बन्द छन् । अत्यावश्यकबाहेक मानिसको आवतजावत नहुने भएकाले मुख्य राजमार्गहरु सुनसानझैँ देखिन थालेका छन् ।

BOP Bhantabari

पूर्ण निषेधाज्ञा कार्यान्वयन गराउन तीन वटै प्रहरीको सक्रियता निर्णायक रहेको छ । जनपद प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरी त्यसको लागि लागिपरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले तोकेको मापदण्डभन्दा बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको बताएका छन् । यसका साथै जिल्लाका मुख्य शहरभित्र गाउँमा लाग्ने हाट बजार पनि पूर्ण निषेध गरिएको एसपी थापाले दाबी गरे । बिहेले पनि सुनसरीमा निषेधाज्ञा कार्यान्वयनमा समस्या भएको उनको भनाइ छ । ‘यो बिहेको सिजन हो । अस्ति नै बिहेमा २४÷२५ जनालाई बाध्य भएर जान दिने निर्णय गरियो । यसले गर्दा भित्र गाउँहरुमा ३५ जना ५० जना पनि गए होलान् । त्यस्तो ठाउँमा पनि हामी गएर निरुत्साहित गरेका छौँ’, उनले भने । मुख्य राजमार्गमा लामो दूरीको सवारी साधन आवतजावत भएकाले केही चहलपहल देखिएको उनको भनाइ छ । सुनसरीको इटहरी र धरानमा निषेधाज्ञा कार्यान्वयनमा धेरै चुनौति रहेको उनले बताए । यी ठाउँमा मानिसहरुको बसोबास बाक्लो रहेकाले पनि आवतजावत बढी हुने र त्यसले चहलपहल बढी देखिएको उनको भनाइ छ । लाखौँ जनसंख्या रहेको ठाउँमा केही सय प्रहरीले मात्र गरेर निषेधाज्ञा कार्यान्वयन नहुने भन्दै उनले प्रत्येक नागरिक आफैँ सजग हुनुपर्नेमा जोड दिएका छन् ।

यता १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायबउपरीक्षक सुमनकुमार तिम्सिनाले प्रदेशमा चार सय पाँच जना प्रहरीले सुरक्षा प्रदन गर्नुपर्ने हुदाँ कार्यान्वयनमा ठूलो चुनौति रहेको बताएका छन् । अहिले प्रदेशको १४ जिल्लाका ९२ स्थानमा ट्राफिक प्रहरीको युनिट रहेको स्मरण गराउँदै उनले राजमार्ग बाहेकका ठाउँमा उपस्थिति जनाउन सम्भवन नभएको बताएका छन् । ‘हाम्रो पहुँच मुख्य राजमार्गमा मात्र छ । ग्रामीण सडकमा हाम्रो जनशक्तिको अभावको कारण उपस्थिति जनाउन पाएका छैनौँ । त्यस्ता ठाउँमा हामी कहिलेकाहीँ घुम्ति चेकिङ गर्छौँ । तर यो अपुग छ’, उनले भने । उनले अहिले प्रदेश १ का विभिन्न जिल्लामा दैनिक सयौँको संख्यामा निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरिएको जानकारी दिएका छन् । ‘हाम्रो समन्वय भनेको स्थानीय प्रहरी र पालिकासँग बढी हुन्छ । यस्तै जिल्लाा प्रहरीसँग पनि समन्वयात्मक भूमिका निर्वाह गर्ने काम पनि हामी गरिरहेका छौँ’, उनले भने । सीसीएमसीको निर्णय बमोजिम आफूहरु प्रदेशभरि नै तैनाथ भएको उनले बताए ।

Trafice Police Itahari

डीसीसीएमसी सुनसरीको वैशाख २० गतेको निणर्य बमोजिम सुनसरीमा भारतबाट नेपाल र नेपालबाट भारत प्रवेशमा पूर्ण रुपमा बन्देज लगाइएको सशस्त्र प्रहरी बल सुनसरीका प्रहरी उपरीक्षक (एसपी) माधवप्रसाद पौडलले बताए । नेपाल भारत खुल्ला सीमा भएकाले यहाँ हुने आवतजावतलाई पूर्ण रुपमा बन्द गर्न भने असम्भव रहेको उनको भनाइ छ । ‘नेपाल भारतको सुनसरीमा ६२ किलोमिटर क्षेत्रफल खुल्ला सीमा छ । अब यहाँ हामीले प्रयास गर्दा पनि पूर्ण रुपमा रोक्न सकेका छैनौँ । प्रत्येक पाँच सय मिटरको दूरीमा हाम्रा प्रहरीहरु तैनाथ भएपनि रातको समयमा भिजिबिलिटीको कमीका कारण समस्या छ’, उनले भने । लुकिछिपी आवतजावत गर्नेलाई नियन्त्रण गर्नु नै आफ्नो अहिलेको मुख्य चुनौति रहेको उनले बताए । ‘यसलाई नियन्त्रण गर्न हामीले २४ घण्टा प्रहरी परिचालन गरेका छौँ । हाम्रो १० वटा स्थायी र १६ वटा अस्थायी पोस्ट गरी जम्मा २६ पोस्टबाट जिल्लाका ७२ वटा विभिन्न साना ठूला नाकाहरुमा कडाइ गरेका छौँ’, उनले भने । यति ठूलो संख्यामा प्रहरी परिचालन गरेपनि खेत, खुला चौर र मकै बालि लगाएको ठाउँबाट मानिसको आवतजावत भइरहेको उनले स्वीकार गरेका छन् । यस्तै सडकहरुमा पनि अन्य प्रहरी संगठनसँग समन्वय गरेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको उनको भनाइ छ ।

Gadi Hold Budhikhola