इलामः चिया कृषक पीडैपीडामा रुमलिएका छन् । विगतका वर्षमा यसपटक चियाको ‘सेकेण्ड फ्लस’ टिप्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने ‘फस्ट फ्लस’बाटै किसानले उल्लेखनीय आम्दानी बटुल्थे । यसपटक विगत झैँ भएन ।

चियाको पहिलो टिपाइ फस्टाउनका लागि फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ । यसपटक त्यो समयमा पानी परेन । यसैले यसपटक चिया उत्पादन ह्वात्तै घट्यो । गत वर्ष तीन हजार किलो हरियोपत्ती बनाएका इलाम नगरपालिका–१ स्थित साँखेजुङका किसान गोपाल दाहालले यसपटक बल्लतल्ल सात सय किलो चिया भएको बताए । पानी नपरेकै कारण चिया उत्पादनमा ह्रास आएको उनको भनाइ छ । फागुन महिनामा पानी परेको भए चिया राम्रो हुने उनले बताए । चियाका लागि आकाशबाट परेको पानी सबैभन्दा बढी लाभदायक हुन्छ । वैकल्पिक माध्यमबाट पानी लाए पनि आकाशबाट परेको पानीमा जति अन्य तवरको पानीमा चिया फस्टाउँदैन । अघिल्ला वर्षमा पनि यही ‘सिजन’को पानीका कारण चिया उत्पादनमा किसानले हण्डर खानुपरेको थियो ।

यसपटक त किसानले पानी मात्र नभई मलका कारण पनि समस्या भोग्नुपरेको सूर्योदय नगरपालिकाका किसान गोपाल कट्टेलले जानकारी दिए । मुख्य समस्या पानी हुँदाहुँदै मलल अभावको पनि सामना गर्नु पर्दा चिया उत्पादन घटेको कट्टेलको भनाइ छ । इलामका धेरै चिया बगान र उद्योग अर्गानिक (जैविक) बनेका छन् । यस्ता बगान र उद्योगले रासायनिक मलको प्रयोग गर्दैनन् तर अन्य उद्योगका लागि भने रासायनिक मलको खाँचो पर्छ । गत वर्षसमेत यहाँका किसानले रासायनिक मलको अभाव झेल्नु पर्यो । उत्पादनमा समस्या भएको चियामा यसपटक निकासीमा पनि उस्तै लफडा झेल्नुपरेको छ । यहाँको चिया झापा हुँदै भारतीय बजार पुग्ने गर्छ । तर यसपटक भने कोरोनाका कारण सहजरूपमा चिया निकासी भएको छैन । कोरोनाले नेपालबाट बाहिर पठाउन समस्या परेको छ । भारतीय बजारमा चिया किन्नेको पनि सङ्ख्या एकदमै कम छ । यता (नेपाल)को भन्दा पनि उता (भारत)कै तनाव धेरै रहेको छ । सूर्योदय टी प्रोड्युसर्सका सचिवसमेत रहनुभएका कट्टेलले अरुबेला यहाँबाट गएको चिया अधिकतम मात्रामा बिक्री हुने गरेको बताए ।

तर भारतमा कोरोना बढेकै कारण झमेला खेप्नुपरेको उनको भनाइ छ । चिया लैजानु पूर्व एकपटक चियाको ‘स्याम्पल’ (नमूना चिया) लैजानु पर्छ तर यसपटक स्याम्पलसमेत पठाउन सकिएको छैन । जुन सिजनको चिया निर्यात गर्नुपर्ने हो त्यो सिजनको चिया पहिलै स्याम्पलका रूपमा पठाउनु पर्छ । यसपटक भने कोरोनाका कारण सम्भव भएको छैन । विगतका वर्षमा वैशाख १५ सम्ममा पहिलो सिजनको स्याम्पल पठाइसकिन्थ्यो तर यसपटक हालसम्म पुग्न सकेको छैन । देउमाई नगरपालिकाका उद्योगी गोपाल दाहालका अनुसार खरिदकर्ताले चाहेको समयमा चिया पुर्याउन नसक्दा बिक्री नहुने सम्भावना बढी हुन्छ । यसको लागत बढी हुने र फिर्ता हुने भएकाले उद्योगकै घाटामा जान सक्छ । चालु आर्थिक वर्ष ०७७÷०७८ मा नौ हजार पाँच सय ७० मेट्रिक टन चिया निर्यात भएको छ ।

यसबाट चालु आर्थिक वर्षमा तीन अर्ब छ करोड रुपैयाँ आम्दानी भएको भन्सार विभागको तथ्याङ्क छ । गत आर्थिक वर्ष ०७६÷०७७ मा ११ हजार एक सय ८५ मेट्रिकटन चिया निकासी भएको थियो । यसबाट दुई अर्ब ७८ करोड रुपैयाँ आम्दानी भएको थियो । गत आर्थिक वर्षमा २४ हजार एक सय १८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड–१९ का कारण कम निकासी भएको चियाको निकासी सहज भएपछि निर्यात वृद्धि भएको नेपाल चिया तथा कफी विकास बोर्डले जनाएको छ । -रासस