इटहरीः सुनसरीको कोसी गाउँपालिकाले आइसोलेसन नबनाउने भएको छ ।

जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्र (डीसीसीएमसी) सुनसरीले अनिर्वाय आइसोलेसन बनाउन परिपत्र गरेपनि गाउँपालिकाले होल्डिङ सेन्टर मात्र बनाउने गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले जानकारी दिए । होल्डिङ सेन्टर बनाउने निधो गरे पनि पालिकाले अहिलेसम्म कहाँ बनाउने भन्ने निधो गर्न सकेको छैन । छिमेकी देश भारतसँग २२ किलोमिटर खुल्ला सीमा जोडिएको यो गाउँपालिकामा संक्रमणको खतरा उच्च छ ।

सरकारले विद्यालयहरुमा आइसोलेसन र होल्डिङ सेन्टर नबनाउन भनेपछि पालिकालाई थप जटिलता आइपरेको उनको भनाइ छ । उनले कसैको घर भाडामा लिएर आइसोलेसन सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । छिमेकी देशबाट पालिका प्रवेश गर्नेलाई तत्काल होम आइसोलेसनमा बस्न निर्देश गरिएको अन्सारीले जानकारी दिए । खुल्ला सीमा भएकाले खेतिका लागि आवातजावात गर्ने धेरै भएकाले नियन्त्रण गर्न कठिन हुने उनको भनाइ छ ।