धरानः कोरोना भाइरसको नयाँ भेरियन्ट तिव्र गतिमा फैलिरहेको अवस्थामा बजारमा कालोबजारी बढेको भन्दै माधव नेपाल निकट अनेरास्ववियु र युवा संघ नेपाल धरान उपमहानगर कमिटीले सुनसरी उद्योग वाणिज्य संघलाई ज्ञापनपत्र बुझाएको छ ।
सुनसरी उद्योग वाणिज्य संघकै कार्यालयमा दिउँसो ज्ञापनपत्र बुझाएको हो । पछिल्लो समय महामारीको रूपमा देखा परेको कोरोनाको कारण जनजीवन निकै प्रभावित भएको छ । मानिसलाई चाहिने दैनिक उपभोग्य सामानहरुको कालोबजारी पनि बढिरहेको छ । दुई रुपैयाँ पर्ने माक्सलाई १० देखि १५ रुपैयाँसम्म तिरेर उपभोग गर्नुपरेको गुनासो रहेको छ । सेनिटाइजरमा समेत निकै महँगो मूल्य राखेर बेच्ने गरेको उपभोक्ताको गुनासो रहेको छ । विशेषगरी धरानमा मनोमानी मूल्य तोकेर बिक्री गर्ने व्यापारीहरुलाई अनुगमन गरी कारबाही गर्न र आवश्यक कदम चाल्नसमेत ज्ञापनपत्रमा माग गरिएको छ । ज्ञापनपत्रमा तीन दिनभित्र आवश्यक कदम नचालेको खण्डमा कडा आन्दोलन गर्नेसमेत चेतावनी दिइएको छ । धरानमा पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो अवस्थामा सुनसरी उद्योग वाणिज्य संघ पनि चुप लागेर नबस्ने अध्यक्ष गिरिधारी सापकोटाले बताए ।
उनले अन्तर्राष्ट्रिय मूल्यवृद्धि भएसँगै आफूहरुले पनि सो समस्या भोग्नुपरेको बताए । उनले स्थानीय तहबाट भन्दा पनि राष्ट्रियस्तरबाट नै मूल्यवृद्धिलाई रोक्न सकिने धारणा राखे । खुद्रा बिक्री गर्ने सामानहरुमा ट्याग नै हुने भएकोले सोभन्दा बढीमा बिक्री गर्न नपाउने र गरेको खण्डमा जानकारी दिनसमेत अध्यक्ष सापकोटाले अपिल गरे । सोही ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस फैलनुमा सर्वसाधारणकै गल्ति रहेको भन्दै दिएको अभिव्यक्तिप्रति पनि विरोध जनाएका छन् ।
सामान्य जनजीवनमा फर्किँदै गरेको हाम्रो समाजमा प्रधानमन्त्रीले गत वर्ष पुस ५ गते संसद विघटन गर्न खोजेपछि राजनीतिक उतारचढाव बढेको थियो । त्यति नै खेर प्रायः सबै राजनीतिक दलहरु आन्दोलनमा होमिएका थिए । कसले कति शक्ति देखाउने भन्ने प्रतिस्पर्धा नै भएको थियो । कोरोना महामारीको रुपमा फैलिनुमा राजनीतिक पार्टीहरुकै दोष रहेको बुझ्न सकिन्छ । ज्ञापनपत्र धरान उपमहानगरपालिका कार्यालय, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय धरानलाई समेत बोधार्थ प्रदान गरिएको छ ।