राष्ट्रिय परीक्षा बोर्डले कोभिड–१९ महामारीबीच एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका प्रमुखले बीबीसी न्यूज नेपालीलाई बताएका छन् ।

अर्को सूचना नआउन्जेल परीक्षाहरू स्थगित गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।

“सरकारले पनि परीक्षाहरू स्थगित गर्न भनेको छ र पछिल्लो समय कोरोनाभाइरसको बढ्दो सङ्क्रमणका कारण हामीले परीक्षाहरू स्थगन गर्ने निर्णय गरेका हौँ ।“

“त्रिसट्ठी जिल्लामा अहिले लकडाउनको स्थिति पनि छ । यस्तो अवस्थामा तत्काल परीक्षाहरू गर्न सम्भव देखिएन,“ पौडेलले थपे ।

पूर्वनिर्धारित तालिका
गत वर्ष पनि कोरोनाभाइरस महामारीका कारण एसईई परीक्षा स्थगित गरी विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीलाई कक्षा ११ मा अध्ययन गर्न दिइएको थियो ।

यो वर्ष आउँदो जेठ १३ गतेबाट एसईई परीक्षा सञ्चालन गर्ने पूर्वनिर्धारित तालिका थियो ।

त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ गतेबाट सञ्चालन गर्ने योजना थियो ।

नेपालमा केही सातायता कोरोनाभाइरस सङ्क्रमण उच्च दरमा बढिरहेको पाइएको छ ।

सङ्क्रमणमा वृद्धि देखिएसँगै सरकारले विद्यालय तथा विश्वविद्यालयहरूमा भौतिक उपस्थिति सहितका कक्षाहरू सञ्चालनमा रोक लगाइसकेको छ ।

आइतबार अपराह्णसम्म देशभरि ८८ हजारभन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ । तीमध्ये काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतवार अपराह्णसम्म काठमाण्डू जिल्लामा २७ हजार ६ सय ६० जना, ललितपुरमा ६,हजार १० जना र भक्तपुरमा तीन हजार नौ सय १२ जनामा सक्रिय सङ्क्रमण छ । -बीबीसीबाट