काठमाडौंः उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा रोमन म्यागेसेसे पुरस्कार विजेता एवं चर्चित नेपाली वैज्ञानिक महावीर पुनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
सिंहदरबारमा आज भएको भेटमा कोरोनाविरुद्वको लडाईंमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनले खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गरेका हुन् । कोरोनाविरुद्वको लडाईं सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको आवश्यकता रहेको उपप्रधानमन्त्री पोखरेलले बताए । भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामानहरु तयार गरी निःशुल्क वितरण गरेको जानकारी दिए ।

उनका अनुसार, आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५ सय सेट पीपीई मानवीय हिसाबले निःशुल्क वितरण गरिसकेको छ । वैज्ञानिक पुनले संकटकालीन अवस्था भएकाले त्यही अनुसारको अध्यादेश र कानुन बनाएर भएपनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरे । उपप्रधानमन्त्री पोखरेलले आविष्कार केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गरे । सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गर्ने उनले बताए । उनीहरुबीच कोरोना संकटमा कसरी हातेमालो गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । सरकारले राम्रो काम गरिरहेको भएपनि जनतामा काम देखिन नसक्नु दुःखद भएको पुनको भनाइ थियो ।