इटहरीः सुनसरीको इटहरीमा अनावश्यक रुपमा आवातजावात गर्ने सवारी साधन र मानिसहरुलाई इलाका प्रहरी कार्यालय इटहरीले कारबाही गर्न थालेको छ ।
शनिबारसम्म सामान्य सम्झाइबुझाई गरेर छोड्ने गरेको इटहरी प्रहरीले आइतबारदेखि मानिसलाई ‘होल्ड’ गर्न थालको इप्रका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीले जानकारी दिए । उनका अनुसार आइतबार अनावश्यक रुपमा सञ्चालनमा रहेका मोटरसाइकल बढी कारबाहीमा परेका छन् । प्रहरीले त्यस्ता व्यक्तिलाई एक सय रुपैयाँ जरिवाना पनि तिराउन थालेको छ । इटहरीमा कोरोना संक्रमणको अवस्था भयावह बनेको र नागरिकस्तरबाट लापरबाही बढ्दै गएको भन्दै प्रहरीले यस्तो कारबाही चलाएको केसी बताउँछन् ।
आइतबार मात्र इटहरी प्रहरीले ४० जनालाई होल्ड गरेको छ । यस्तै ४३ वटा अनावश्यक रुपमा सञ्चालनमा रहेका सवारी साधनलाई नियन्त्रणमा लिएको केसीले जानकारी दिए । ‘सुरु सुरुमा त हामीले उहाँहरुलाई होल्ड मात्र गर्यौँ’,डी.एस.पी केसीले भने, ‘आजबाट चाहिँ हामीले मानिसहरुलाई सामाजिक दूरी कायम गराएर होल्ड गरेका छौँ ।’ उनका अनुसार प्रहरीले आफ्नै कार्यालयअगाडि र वीरेन्द्र चौकमा होल्ड गर्ने गरेको छ ।