इटहरीः सुनसरीको धरान उपमहानगरपालिका १५ स्थित पूर्वेली पथमा रहेको एक घरमा प्रवेश गरी घरमा रहेकी महिलामाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाई नगद र गरगहना लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–३ घर भई हाल धरान १५ सुनगाभा मार्गमा बस्ने ३८ बर्षीय सन्तोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतलीलाइन बस्ने ३५ वर्षीय सोनी राई र धरान १३ अमरहाट बस्ने २९ वर्षीया लक्ष्मी लिम्बू रहेका छन् । यही वैशाख ११ गते बिहान ९ः१५ बजे सोही स्थानका झरना विश्वकर्मा र उनका छोरा जोहन विश्वकर्मा पूजा गर्न घरबाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी झरनाकी आमा गोविन्दमाया विश्वकर्मालाई टाउकोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद रु. २ लाख र घरमा रहेका सुनका गरगहना गरी जम्मा रु. ११ लाख ४० हजार नौ सय ५० रुपैयाँ बराबरको धनमाल डाँका गरी लगेका थिए ।

FB_IMG_16205594866499709

सो घटनामा घाइते भएकी गोविन्दमायालाई उपचारार्थ न्यूरो अस्पताल विराटनगरमा पठाइएकोमा उपचारका क्रममा वैशाख १९ गते उनको मृत्यु भएको थियो । मृतक महिलाका परिवारजनले दिएको जाहेरीका आधारमा अनुसनधानमा जुटेको प्रहरीले घटनामा लुटपाट भएका सामानसहित अभियुक्तहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरुले लुटेर लगेका गहनाहरु सोनी राईले बहिनी नाता पर्ने लक्ष्मी लिम्बूलाई लुकाइछिपाई राख्न दिएको भनी खुल्न आएपश्चात् लक्ष्मीको कोठा खानतलासी गर्दा सुनका गहनाहरु बरामद भएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले बताए । अभियुक्तहरुउपर जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।