इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा आज २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
वैशाख २३ गते संकलन गरिएका ४३ स्वाब नमुनको पीसीआर परीक्षणको नतिजा अनुसार २३ जना संक्रमितको पहिचान भएको उपमहानगरपालिकाका प्रेस सल्लाहकार लिलाराज भट्टराईले जानकारी दिए । उनका अनुसार प्रदेश १ सरकारद्वारा विराटनगरमा सञ्चालित प्रयोगशालामा गरिएको परीक्षणबाट २३ जना संक्रमित फेला परेका हुन् । यसैगरी, निजी क्षेत्रद्वारा सञ्चालित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट हिजो ११ जनामा कोरोना देखिएको सल्लाहकार भट्टराईको भनाइ छ । यसैगरी, एन्टिजेन विधिबाट हिजो गरिएको परीक्षणबाट दुई जना र आज गरिएको परीक्षणबाट एक जना संक्रमित पहिचान गरिएको उनले बताए ।
यसका साथै इटहरी उपमहानगरपालिका क्षेत्रभित्र हालसम्म चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको भट्टराईले उल्लेख गरे । संक्रमितमध्ये १४ दिन पूरा गरेकाको संख्या ६० जना रहेको छ । यसैबीच, इटहरी ८ निवासी ५५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ज्यान गएको उपमहानगरपालिकाले जनाएको छ ।