इटहरीः झापाका विभिन्न स्थानबाट प्रहरीले अक्सिजन सिलिन्डर संकलन गरी अस्पतालका लागि आवश्यक अक्सिजन आपूर्ति गर्ने प्रयोजनका लागि अक्सिजन भर्ने ठाउँमा बुझाएको छ ।
गत बुधबारदेखि शनिबारसम्ममा इलाका प्रहरी कार्यालय दमकले १२ वटा, इप्रका अनारमनीले ९० वटा, इप्रका काकडभिट्टाले १२ वटा र इप्रका धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन सिलिन्डर संकलन गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए । उनका अनुसार सिलिन्डरमा अक्सिजन भर्नका लागि एक सय २१ ओटा सिलिन्डर कपुरी ट्रेडर्स र १२ ओटा मातृ ट्रेडर्सलाई जिम्मा लगाइएको छ । जिप्रका मातहतका प्रहरी कार्यालयहरुले आ आफ्नो इलाकाभित्र पर्ने विभिन्न ग्यारेजहरुमा प्रयोग भइरहेका खाली अक्सिजन सिलिन्डर संकलन गरी अक्सिजन रिफिल गर्न पठाएका हुन् ।
अक्सिजन सिलिन्डर उपलब्ध गराउने ग्यारेजहरुमा सगुन ग्यारेज, तुलसी ग्यारेज, हस्लेन चेक ग्यारेज, पाथिभरा ग्यारेज, स्माल ग्यारेज, ओम साई अटो ग्यारेज र राजीव ग्यारेज रहेको डीएसपी थापाको भनाइ छ । संकलित अक्सिजन सिलिन्डरहरु रिफिल गरी कोरोना संक्रमितको उपचारका लागि विभिन्न कोभिड उपचार केन्द्रहरुलाई उपलब्ध गराइने प्रहरीले जनाएको छ ।