इटहरीः मोरङका विभिन्न स्थानमा आज बिहान हावाहुरीसहित भएको वर्षाका क्रममा चट्याङ लागेर एक जनाले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा रङ्गेली नगरपालिका १ हाटखोला का ३० वर्षीय प्रविण माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए । उनका अनुसार बिहान ८ः४५ बजे चट्याङ लागी घाइते भएका माझीलाई उपचारार्थ रङ्गेली अस्पताल पुर्याइएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । यसैबीच, जहदा गाउँपालिका ६ पोखरियामा चट्याङ लागेर एक दम्पत्ति गम्भीर घाइते भएका छन् ।

घाइते हुनेहरुमा सोही ठाउँ बस्ने ४५ वर्षीय मुक्तर अन्सारी र उनकी २६ वर्षीया पत्नि जानतारा खातुन रहेको डीएसपी राईले बताए । घाइते दुवैको विराटनगरस्थित कोसी अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।