इटहरीः उदयपुरको चौदण्डीगढी नगरपालिका ८ स्थित वीरेन्द्र बजारमा आज बिहान भएको आगलागीमा परी पाँच घर जलेर नष्ट भएका छन् ।
आगलागीमा परी स्थानीय शिशिर गुरुङ, भरत राई, पदमकुमारी मगर, बालविक्रम राई र कृष्ण मगरको घर पूर्ण रुपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीम दाहालका अनुसार भरत राईको घरबाट सुरु भएको आगलागीबाट पाँच घरमा रहेका लत्ताकपडा, गरगहना, अन्नपात, भााडावर्तनजस्ता सबै घरायसी सामानहरु नष्ट भएका छन् । आगलागीको कारण विद्युत् चुहावट हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
यद्यपि, आगलागीको वास्तविक कारण भने हालसम्म अज्ञात रहेको छ । आगलागी स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको एसपी दाहालले बताए ।सोही आगलागीमा परी घरनजिकै रोकी राखिएको एउटा ट्र्याक्टर र एउटा मोटरसाइकलसमेत जलेको प्रहरीले जनाएको छ ।