इटहरीः मोरङमा चार जना कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ । मृत्यु हुनेमा दुई ज्येष्ठ नागरिक पुरुष र दुई जना महिला रहेका छन् ।

मृतकमध्ये एक जनाको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र तीन जनाको जनाको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । सुनसरीको इटहरी–८ की ५४ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । अस्पतालका कोभिड उपचार केन्द्र प्रमुख सुनिल देवले वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना गरिएकी महिलाको बिहान १ः२० बजे ज्यान गएको बताए । मृतक महिला लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित रहेको देवको भनाइ छ ।

यसैगरी, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा ज्यान गुमाउने संक्रमितहरुमा सुनसरीको धरान उपमहानगरपालिका १७ घर भएका ६६ वर्षीय ज्येष्ठ नागरिक पुरुष, विराटनगर महानगरपालिकाका ७६ वर्षीय ज्येष्ठ नागरिक पुरुष र सिरहाको कल्याणपुर ४ घर भएकी ३८ वर्षीया महिला रहेको स्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार धरानका पुरुषको आज बिहान २ः३० बजे, विराटनगरका पुरुषको बिहान ३ः३० बजे र कल्याणपुरकी महिलाको बिहान ७ बजे ज्यान गएको हो ।