धरानः सुनसरीको धरान १५ स्थित खत्रीधारामा कोरोना संक्रमण भएर मृत्यु भएकाहरुको शव जलाउन स्थानीयहरुले प्रतिबन्ध लगाएका छन् ।
बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धरान १६ मा डेरा गरी बस्ने एक पुरुषको मृत्यु भएको थियो । सोही शवलाई अन्तयेष्टिका लागि खत्रीधारा लैजाँदा स्थानीयले अवरोध गरेका हुन् । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव जलाउँदा स्थानीयहरुले आफूहरुलाई समस्या भएको भन्दै राति सडकमै विरोध गरेका थिए । स्थानीयहरुको विरोधपछि त्यहाँ संक्रमितको शवसमेत व्यवस्थापन नगरिएको धरान उपमहानगरपालिकाले बताएको छ । खत्रीधारामा अन्त्येष्टि गर्ने क्रममा लापरबाही भएको र राम्रो व्यवस्थापन नगरेको स्थानीयको आरोप छ । असुरक्षित तरिकाले शवको व्यवस्थापन गर्दा त्यहाँका मानिसहरुको मनोविज्ञानका साथै खानेपानीको मुहानमा समेत नराम्रो असर पर्ने कुरा स्थानीयले गरेका छन् ।
उक्त शवलाई स्थानीयहरुको विरोधपछि आज जङ्गलमा व्यवस्थापन गरिने भएको छ । विश्व स्वास्थ संगठनको प्रोटोकल अनुसार कोरोना संक्रमण भई मृत्यु भएकाहरुलाई जमिनमा गाड्नुपर्ने हो । पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोनाले धेरैको ज्यान गएको छ । विशेषगरी हिन्दु परम्परामा शवलाई जलाउनुपर्ने मान्यता रहेको छ । छिमेकी मुलुक भारतमा संक्रमितको शव धेरै भएर जलाउन थालिएपछि नेपालमा पनि सोही प्रकृयालाई प्राथमिकता दिइएको हो । कोरोनाबाट मृत्यु भएकाहरुको शव जलाउादा वातावरणमा समेत असर गर्ने भएको हुँदा जमिनमा गाड्नु नै उचित हुने स्वास्थ्य विज्ञहरु बताउँछन् ।