इटहरीः सुनसरीको धरान उपमहानगरपालिका ३ घर भएका उद्योगपति रोसन सोनीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भई मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति १०ः५० बजे ज्यान गएको अस्पतालका कोभिड उपचार केन्द्र प्रमुख सुनिल देवले जानकारी दिए । उच्च रक्तचापबाट लामो समयदेखि पीडित रहेका सोनीमा गत वैशाख १७ गते कोरोना पुष्टि भएपछि उपचारार्थ सो अस्पतालमा भर्ना गरिएको थियो । आन्द्राको शल्यकृयाका लागि भारतको नयाँ दिल्ली गएका सोनीमा उताबाट फर्किएपछि कोरोना संक्रमण भएको थियो ।

धरानमा सूर्य कत्था उद्योग र खोटोको टरपेनटाइन उद्योग सञ्चालन गरेका सोनीले गुटखा उद्योग तथा पेट्रोल पम्पसमेत सञ्चालन गर्दै आएका थिए । यसैगरी,सुनसरी उद्योग वाणिज्य संघ सुनसरीको सल्लाहकारका रुपमा सोनी हालसम्म कार्यरत थिए ।