इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिकाले गत वर्ष चतरा धाममा सञ्चालन गरेको आइसोलेसन केन्द्रका सामान ल्याउन सिद्धबाबा भनिने कृष्णदास गिरीले अवरोध गरेको नगर प्रमुख निलम खनालले जानकारी दिएका छन् ।

नगर प्रमुख खनालले उनलाई ‘छद्मवेदी’को संज्ञा दिएका छन् । ‘धर्म गुरुको नाममा बसेका छद्मवेदीहरुले यो विश्व संकटको बेला यो गर्नु ठीक होइन’, नगर प्रमुख खनालले भने ‘त्यहाँ दिएको भए हामीले यत्रो गर्नुपर्ने थिएन । त्यहीँ सञ्चालन गथ्र्यौँ ।’ चतरा धाममा आइसोलेसन सञ्चालन गर्न नदिएपछि अहिले नगरले ७ नम्बर वडामा रहेको सप्तकोसी बहुमुखी क्याम्पसमा ५० बेडको आइसोलेसन सञ्चालन गर्न लागेको छ । आइसोलेसन राख्न नदिने मात्र होइन, त्यहाँबाट नगरले जडान गरेका पूर्वधार पनि ल्याउन नदिएको खनालले बताएका छन् । ‘हामीले त्यहाँ लगेर राखेका खाट ल्याउन अवरोध गरियो ।

अनि हामीले त्यहाँ जडान गरेका सीसीटीभी, वाईफाई र पङ्खा पनि ल्याउन दिइएन’, नगर प्रमुख खनालले भने । उनले गिरीले साधुसन्त नै लगाएर आफूहरुलाई आफैँले राखेका सामान ल्याउन नदिएको बताए । केहीले आफूलाई त्यहाँ अधिकार भएको र नगरले राख्न पाउन भएकाले जबरजस्ती पनि राख्न सुझए पनि आफूले नगरेको उनले बताए । ‘हामीले त्यहाँ झगडा गरेर राखियो भने भोलि त्यहाँ आउने बिरामीलाई पनि समस्या पर्छ । गत साल पनि बिरामी मान्छे रमाइलो गर्दा होहल्ला भयो भनेर विरोधहरु भए’, उनले भने ।