इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिकाले ४५ वटा अक्सिजन तयारी अवस्थामा राख्ने भएको छ ।

कोरोना महामारीको बढ्दो संक्रमणका कारण नगरमा निर्माण गरिएको ५० बेडको आइसोलेसनका लागि आवश्यक पर्ने सम्भावनालाई ध्यान दिएर अक्सिजन तयारी अवस्थामा राख्न लागिएको आइसोलेसन केन्द्रका इन्चार्ज प्रमोद यादवले जानकारी दिए । अहिले नगरले वडा नम्बर ७ को सप्तकोसी बहुमुखी क्याम्पसमा आइसोलेसन सञ्चालनमा ल्याएको छ ।

आइसोलेसनका लागि आवश्यक अक्सिजन सिलिन्डर जिल्ला स्वास्थ्य कार्यालय इनरुवा र अन्य स्थानीय स्वास्थ्य चौकीले सहयोग गर्ने यादवले जानकारी दिए । ‘हामीसँग गत वर्षको ५ वटा थियो । ३५ वटा जिल्लाले दिने भएको छ । र, बाँकी ५ वटा चाहिँ यहाँका दुई वटा स्वास्थ्य चौकीले दिने भएका छन्’, यादवले भने ।