इटहरीः अहिले आइसोलेसन केन्द्र छिटो सञ्चालनका लागि चिकित्सकहरुले सुझाइरहेका छन् । तर, सुनसरीको इटहरीमा भने आइसोलेसन केन्द्र सञ्चालनको लागि अझै एक साता लाग्ने देखिएको छ ।
पुरानै ठाउँ अर्थात् इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको रङ्गशालामा निर्मित आइसोलेसनमा नै उपमहानगरले पुनः आइसोलेसन सञ्चालनको तयारी थालेको छ । सञ्चालनको तयारी थालेको पनि दुई साताभन्दा धेरै भइसकेको छ । तर, अझै पनि आइसोलेसन सञ्चालनमा आउन सकेको छैन । इटहरीमा आइसोलेसन सञ्चालनमा एक साताको समय अझै लाग्ने सरोकारवाला नै बताउँछन् ।
इटहरी अस्पतालका इमर्जेन्सी शाखा प्रमुख रामकुमार धमलाले इटहरीमा रहेको आइसोलेसन बने पनि सञ्चालनको लागि एक साता लाग्ने जानकारी दिएका छन् । हाल त्यहाँ स्वास्थ्यकर्मीको टोली पठाइसकेपनि कोरोना संक्रमितलाई राखिहाल्ने अवस्था नरहेको उनको भनाइ छ । अहिले यस आइसोलेसनमा उपमहानगरले शिवकुमार झाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली त्यहाँ पठाएको छ । उनीहरु त्यहाँ गएको पनि आज पाँचौँ दिन भएको छ । उपमहानगरले यहाँ अन्य व्यवस्थापनको काम गर्न बाँकी रहेकाले आइसोलेसन सञ्चालनमा एक साता लाग्ने झा बताउँछन् । उनका अनुसार यहाँ सुरक्षाको जिम्मा लिएको नेपाली सेनाको पूर्व पृतना हेडक्वाटरबाट सुरक्षाकर्मी आएका छैनन् ।
यस्तै, यहाँ १० बेडको अक्सिजनजडित बेडसहित ५० बेडको आइसोलेसन सञ्चालनको तयारी गरिएको छ । ४० बेड अक्सिजन बाहेकका आइसोलेसन बेड तयरी अस्थामा रहे पनि बाँकी १० बेडको अक्सिजन सहितको आइसोलेसनमा ५ बेड मात्र तयार गरिएको छ । ती पनि पूर्ण रुपमा तयार नभएको आइसोलेसन इन्चार्ज झा बताउँछन् । यस्त,ै यहाँ बस्ने संक्रमितको लागि आवश्यक खानाको प्रबन्ध पनि उपमहानगरले गरिसकेको छैन । भर्खरै टेन्डर आह्वान गरेको र त्यसका लागि केहि समय लाग्नसक्ने झा बताउँछन् । यसका साथै उपमहानगरले आइसोलेसनमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । यो एम्बुलेन्सलाई उपमहानगरले संक्रमितलाई ल्याउन र यहाँ उपचार सम्भव नभएर रेफर गरिएका बिरामी बोक्नको लागि प्रयोग गरिनेछ ।
आइसोलेसनमा सामाजीक दूरी कायम हुने
गतवर्ष यहाँ एक सय बेडको आइसोलेसन सञ्चालन गरिएको थियो । रंगशालाको पूर्वपट्टिको प्यारापीटका साथै आइसोलेनका लागि उपमहानगरले उसु र कराँतेको कबर्ड हलसहित ४ वटा कोठा प्रयोग गरेको थियो । गत वर्ष एक सय बेड क्षमताको आइसोलेसन बनाउँदा सामाजिक दूरी कायम गर्न नसकिएको झाले बताए । यो वर्ष भने बेड संख्या कम भएकाले सामाजिक दूरी कायम गर्न सकिने उनले बताएका छन् । यो वर्ष बन्ने ५० बेडमध्ये २० वटा महिला र ३० वटा पुरुषका लागि हुनेछन् । उसुको कबर्ड हललाई पुरुष संक्रमित राख्नको लागि प्रयोग गरिएको छ । जहाँ २३ बेड रहेका छन् । यस्तै कराँतेको कबर्ड हलमा महिला संक्रमित राखिनेछ । जहाँ बेड संख्या १७ रहेको छ । अक्सिजनजडित बेड भने पूर्वपट्टिको प्यारापीटमूनि राखिनेछ ।
वाईफाई र सीसीटीभी जडान पनि बाँकी
आइसोलेसनमा वाईफाई र सीसीटीभी जडानको काम पनि बाँकी रहेको छ । गतवर्ष नै जडान गरिएका वाईफाईका राउटर बाँकी नै छन् । ती नै राउटरलाई वितरकसँग आवश्यक समन्वय गरेर पुनः प्रयोग गरिने भएको छ । गत वर्ष यहाँ नेपाल टेलिकमको वाईफाई जडान गरिएको छ । ती अहिले पनि सुचारु अवस्थामा रहेका छन् । संक्रमित बस्न थालेपछि यसलाई पनि प्रयोगमा ल्याइने आइसोलेसन केन्द्रका इन्चार्ज झाले बताए । यसका साथै यहाँ ३२ वटा सीसीटीभी जडान भएका छन् । जुन उपमहानगरले गत वर्ष नै जडान गरेको थियो । अहिले ती प्रयोगमा छैनन् । सुरक्षाकर्मी नआएकाले चोरी हुन सक्ने भएकाले सीसीटीभी तत्काल प्रयोग नगरिएको झा बताउँछन् । सबै सीसीटीभी सुरक्षित रहेकाले सुरक्षाकर्मी आउनेबित्तिकै प्रयोगमा ल्याउने उनले बताए ।