इटहरीः हावाहुरीले ढालेको कदमको रुखले किचेर सुनसरीको इटहरीमा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १७ घर भएका ५५ वर्षीय लक्ष्मण चौधरी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार हिजो अपराहन्न १२ः३० बजे रुखले किचेर चौधरी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारार्थ मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा उनको सोही दिन अपराहन्न २ः३० बजे ज्यान गएको डीएसपी केसीले बताए ।