इटहरीः मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल अगाडिबाट कोभिड १९ का गम्भीर संक्रमितको उपचारका लागि प्रयोग हुने रेम्डेसिभिर इन्जेक्सन भन्दै ज्वरोमा प्रयोग गरिने स्टासेफ इन्जेक्सन बेच्ने गिरोहका दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नोबेल अस्पतालअगाडि नै साथी फार्मेसी नामक औषधि पसल सञ्चालन गरी बसेका सोनु आलम र उनकै पसलमा काम गर्ने श्रवण यादव रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार अभियुक्तहरुले एउटा होटल भाडामा लिई ९० रुपैयाँमा बजारमा पाइने स्टासेफ औषधिको बोतलमा रेम्डेसिभिरको लेबल टाँस गरी आठ हजारदेखि २५ हजार रुपैयाँसम्म रकम असुल्दै बिक्री गरिरहेका थिए ।
दुवै इन्जेक्सनको बोतल एउटै आकारको हुने बताउँदै एसपी खड्काले अभियुक्तहरुले यसैको फाइदा उठाउँदै रेम्डेसिभिरको लेबल टाँस गरी बिक्री गरेको उल्लेख गरे । उनका अनुसार अभियुक्तहरुलाई हिरासतमा राखी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।