इटहरीः उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका १५ घर भएका १८ वर्षीय सुवास परियार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका अनुुसार धरानबाट ओखलढुङ्गातर्फ गइरहेको ना १ च ३३७० नम्बरको सुमो बिग्रिएपछि सोही भीरमाथिको सडकमा रोकिएकोमा सुमोमा सवार परियार बिहान १० बजे टिकटक बनाउन गएका थिए । टिकटक भिडियो बनाउने क्रममा भीरबाट लडेपछि गम्भीर घाइते भएका परियारलाई उपचारार्थ कटारी अस्पताल लैजाने क्रममा उनको बाटैमा ज्यान गएको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा परिचालित प्रहरीले मुचुल्का संकलन गरी विस्तृत अनुसन्धान अगाडि बढाएको छ ।