फुङ्लिङः कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङलाई प्रदेश १ सरकारले १५ लाख रुपैयाँ र स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङको पहलमा आइसोलेशन निर्माण तथा सञ्चालन गर्न रकम सहयोग प्राप्त भएको हो । कोभिड–१९ नियन्त्रण लागि तत्कालका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत १५ लाख पठाइएको मन्त्री आङ्बुहाङका स्वकीय सचिव नारद गुरागाईँले जानकारी दिए । स्टेन, टुलबक्सलगायत १० थान शय्यासमेत मन्त्री आङ्बुहाङले ताप्लेजुङका लागि पठाएको उनको भनाइ छ ।

त्यस्तै दुई सय थान पीपीइ सेट, तीन सय थान स्वाब सङ्कलन गर्ने कीटबक्स, ४५ थान थर्मलगन, मास्क र सेनिटाइजरसहितका सामग्री ताप्लेजुङका लागि पठाइएको गुरागाईँको भनाइ छ । स्वास्थ्य सामग्री आज (शुक्रबार) ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आइपुग्ने छ । -रासस