इटहरीः अहिले विश्वभर कोरोनाको दोश्रो भेरियन्टले आतङ्क मच्चाइरहेको छ ।
नेपालमा पनि कोरोनाको संक्रमण बढ्दो दरमा रहेको छ । दैनिक हजारौँमा कोरोना पोजेटिभ देखिने नेपालमा दर्जानौँको ज्यान जाने गरेको छ । सुनसरीको इटहरीमा पनि कोरोनाको खतरा निदानुदिन बढ्दै गएको छ । सोही अनुसार उपमहानगरले परीक्षणको दायर बढ्उँदै लगेको छ । अहिले नगरमा दैनिक ५० जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन हुने गरेको छ । तर यो संख्या अपर्याप्त हुने स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मी बताउँछन् । अहिले इटहरीमा भइरहेको कोरोना परीक्षणको दर कम मात्र नभई यसले झन् जोखिम बढ्ने देखिएको इटहरीमा रहेको आइसोलेसन केन्द्रका इन्चार्ज शिवकुमार झाले जानकारी दिएका छन् ।
गत मंगलबारदेखि उनी स्वयम इटहरी रङ्गशालामा रहेको आइसोलेसन केन्द्रमा स्वाब संकलन गरिरहेका छन् । ‘हिजो (बिहीबार) ८० जना जना हामीकहाँ पीसीआर परीक्षण गर्न आउनुभएको थियो े। तर, प्रदेश प्रयोगशालमा ५० जनाको मात्र परिक्षण हुने भएकाले हामीले ३० जनालाई फिर्ता पठाएका छौँ । आज पुन उहाँहरुको स्वाब संकलन गर्दैछौँ’, उनले भने । यसरी फिर्ता गएकाहरु होम वा सेल्फ आइसोलेसनमा नै नबस्ने हुनाले कोरोना संक्रमण फैलने खतरा बढ्ने उनको भनाइ छ । उनले शुल्क लिएरै भए पनि उपमहानगरले परीक्षणको दायरा बढाउनुपर्ने आवश्यकता देखिएको बताएका छन् । साथै उनले धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै पटक ५० जनाको नमुना परीक्षण हुने भन्दै प्रतिष्ठानमै परीक्षण गराउन पनि सुझाएका छन् ।