इटहरी: मोरङको विराटनगर महानगरपालिका–१६ बाट प्रतिबन्धित लागूऔषध ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका ४ का २४ वर्षीय असिम बस्नेत र इटहरी ५ का ३२ वर्षीय कुमार विश्वकर्मा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार गएराति १० बजे सीमावर्ति भारतीय क्षेत्रबाट नेपालतर्फ आउँदै गरेको को २५ प २५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय रानीको टोलीद्वारा पक्राउ गरिएका अभियुक्तहरुका साथबाट प्रहरीले प्रतिबन्धित लागूऔषध डाईजेल्याब ३० एम्पुल, लुपिजेसिक ३० एम्पुल, फेरागन ३० एम्पुल, डाईलेक्स डिसी १ बोतल, नाईट्रोजन ट्याब्लेट १० चक्की र सामसुङ कम्पनीको २ थान मोवायल बरामद गरेको कार्यालयको भनाइ छ ।
अभियुक्तद्वयलाई जिल्ला अदालत मोरङबाट म्याद थप गराई इप्रका रानीको हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाउन अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।