इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थित टेङ्ग्रा खोलाको किनारमा हिजो मृत फेला परेका युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने दुवै शंकास्पद अभियुक्तहरु सडक मानव रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीले जानकारी दिए । उनका अनुसार घटनाको जानकारी पाएलगत्तै अनुसन्धानमा जुटेको प्रहरीले दुवै अभियुक्तहरुलाई हिजै नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको थियो । पक्राउ परेकामध्ये एक जना अभियुक्त मात्र हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी केसीले जानकारी दिए । पक्राउ परेका दुईमध्ये एक अभियुक्तले आरोप अस्वीकार गरेको तथा अर्का अभियुक्तले भने मादक पदार्थ सेवनका विषयमा आफूहरुबीच विवाद टाउकोमा इट्टा प्रहार गरी युवकको हत्या गरेको बयान दिएको प्रहरीसम्बद्ध स्रोतले बताएको छ ।
टाउको र अनुहारमा गम्भीर चोट लागेको अवस्थामा हिजो बिहान प्रहरीले युवकको शव फेला पारेको थियो । मृतकको हातमा अङ्ग्रेजी अक्षरमा दुःखी राई लेखिएको टाटुसमेत फेला परेको थियो । यद्यपि, मृतकको सनाखत भने हालसम्म हुन नसकेको प्रहरीले जनाएको छ । आगामी शनिबारसम्म यो मामिलाको अनुसन्धानलाई निष्कर्षमा पुर्याउने प्रहरीको लक्ष्य छ ।