दोस्रो लहरको कोरोना संक्रमणले छिट्टै निमोनिया गराउने भएको हुँदा यतिबेला सबै अस्पतालमा बिरामीको चाप बढेको छ । जसका कारण अस्पतालमा बेड पाउन निकै कठिन भएको छ । पीसीआर परीक्षणको नतिजा पोजिटिभ आएका तथा अक्सिजनको मात्रा ९० बाट पनि घटेका व्यक्ति १ मिनेट पनि घरमा बस्नुहुँदैन । यस्तो अवस्थामा नजिकको अस्पतालको फिभर क्लिनिकमा जानुपर्दछ । फिभर क्लिनिकमा चिकित्सकको जाँच, एक्सरे आदि हुन्छ । त्यसपछि भर्ना हुने अवस्था भएमा उक्त अस्पताललाई नै बेड खोज्नको लागि अनुरोध गर्नुपर्दछ ।
.
उपर्युक्त अस्पतालमा बेड नपाएमा आफैँ अस्पताल खोज्दै भौँतारिनु हुँदैन । त्यहाँ रहेका ट्रली, कुर्सी, चौर, बरण्डा जहाँ भएपनि बसेर उपचार सुरु गरिहाल्नुपर्छ । अस्पतालमा बेड प्याक हुने र खाली हुने क्रम भइरहेको हुन्छ । कहिलेकाँही केही घण्टा असजिलो अवस्थामा बसेर प्रतीक्षा गर्दा बेड पाउने सम्भावना बढी हुन्छ । ट्रली वा कुर्सीमा बसेर उपचार गरेको बेला गाह्रो भएमा अस्पतालले आकस्मिक उपचार गर्दछ वा आफैँ बेड खोजेर अर्को अस्पतालमा पठाउँछ ।
.
आइसीयुमा बस्नुपर्ने अवस्था भए उपर्युक्त अस्पतालले या आइसीयुमा एडजस्ट गर्छ या अर्को अस्पतालमा आइसीयु खोजेर पठाउँछ । यही बीचमा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएका हटलाइन तथा फोन नम्बरमा सम्पर्क गरेर बेडको खोजी गर्न सकिन्छ ।
.
यस्तो बेलामा उच्च मनोबलले निकै काम गर्छ । धेरै बिरामी भुइँमा सुतेर भएपनि उपचार सुरु गरेर निको भएर फर्किएका छन् भने कतिपय बिरामी आरामदायी बेडको खोजीमा भौतारिँदा जीवनलीला समाप्त गरेका छन् । जीवन बच्यो भने घरकै आरामदायी बेडमा सुत्न पाइन्छ ।
.
आफुले चिनेका अस्पतालका स्टाफ, आफ्ना जनप्रतिनिधि वा अन्य व्यक्तिसँग सम्पर्क गर्दा पनि बेड पाउने सम्भावना हुन्छ । अस्पतालको फिभर क्लिनिकमा उपचाररत भएर यी उपायको खोजी गर्नु बुद्धिमानी हुन्छ । गाह्रो भएको बेला सुरुमै घरबाट फोन गरेर बेड पाउने सम्भावना कम हुन्छ । विषम परिस्थितिमा अप्ठ्यारो भोगेर भएपनि उपचार पाइन्छ भने यो विकल्पलाई कहिल्यै पनि नजरअन्दाज गर्नुहुँदैन ।
.
अस्पतालमा गएका हरेक बिरामीलाई आफ्नो समस्या सबैभन्दा ठूलो र महत्वपूर्ण लाग्छ । सबै चिकित्सक तथा नर्सले आफूलाई मात्र ख्याल गरे हुन्थ्यो भन्ने लाग्छ ्र चिकित्सक तथा नर्सको फोकस गम्भीर बिरामीमा हुन्छ । तसर्थ तपाईँलाई कम महत्व दिनुको अर्थ तपाईँको अवस्था खतरापूर्ण छैन भनेर पनि बुझ्नुपर्दछ । आफूलाई समस्या परेमा स्पष्ट रुपमा स्वास्थ्यकर्मीलाई बताउनुपर्दछ । शालीन ढंगले आफ्नो समस्या राख्दा राम्रो उपचार पाउने सम्भावना बढी हुन्छ ।
.
सबैभन्दा ठूलो कुरा त मनोबल नै हो । म अस्पतालमा छु, छिटोढिलो उपचार पाउँछु, बेड पनि पाउँछु र सन्चो भएर घर फर्किन्छु भन्ने तिव्र इच्छाशक्तिले तपार्इँलाई बचाउने छ । कतिपय बिरामी धेरै आत्तिएर पेनिक एट्याक हुन्छ । यस्तो अवस्थामा कोभिडको कारणले भन्दा पनि आत्तिनुको कारणले स्वास्थ्य जटिल हुन्छ । एक सर्को सास बाँकी छउन्जेल आत्मबल कायम रह्यो भने त्यही एकसर्को सासले हामीलाई जीवनको सुन्दर बिहानीमा पुर्याउँछ । आत्मबल कमजोर भएमा स्वास्थ्य राम्रो भएपनि आकस्मिक घटना हुन सक्दछ । तसर्थ उपचार र आत्मबल एकै सिक्काका दुई पाटा भएको तथ्य कहिल्यै बिर्सिनु हुँदैन । कहिल्यै पनि आत्मबलभन्दा रोग ठूलो हुँदैन ।