इटहरीः आज नेपालमा नौ हजार ७० जना कोरोना संक्रमितको पहिचान भएको छ ।

यससँगै कोरोना संक्रमितको कुल संख्या देशभर तीन लाख ६८ हजार पाँच सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका २० हजार तीन सय ६७ स्वाब नमुनाको पीसीआर र सात सय ७५ स्वाब नमुनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित फेला परेको मन्त्रालयको भनाइ छ । संक्रमितमध्ये आज देशभर दुई हजार सात सय सात जना निको भएका छन् ।

यससँगै निको हुने संक्रमितको कुल संख्या दुई लाख ९२ हजार चार सय ९० पुगेको छ । यसैगरी, आज देशभर ५४ जना संक्रमितको ज्यान गएको छ । यससँगै नेपालमा मृतक संक्रमितको कुल संख्या तीन हजार पाँच सय २९ पुगेको छ । हाल देशभर ७२ हजार पाँच सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।