इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा मास्कको कालोबजारी बढेको जनगुनासोपछि उपमहानगरपालिकाले आज बजार अनुगमन गरी मास्कको खुद्रा मूल्य पाँच रुपैयाँ कायम गराएको छ ।
तीन रुपैयाँभन्दा कमको थोक मूल्यमा खरिद गरी खुद्रा ग्राहकलाई प्रतिगोटा १० रुपैयाँमा मास्क बिक्री भइरहेको गुनासो आएपछि उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमका साथै जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी, प्रहरी र सञ्चारकर्मीको टोलीले बजार अनुगमन गरी प्रतिगोटा अधिकतम पाँच रुपैयाँ मात्र लिएर मास्क वितरण गर्न निर्देशन दिइएको उपमहानगरपालिकाका राजश्व प्रशासन प्रमुख नविन भट्टराईले जानकारी दिए । उनका अनुसार अनुगमनका लागि पुगेको सरकारी टोलीले १० रुपैयाँ प्रतिगोटामा मास्क बिक्री गरेको पाएपछि त्यस्ता औषधि पसलहरुलाई पाँच रुपैयाँ मात्र लिन भन्दै पहिलो पटकका लागि सचेत गराई छोडिएको छ । केही पसलहरुले मास्क खरिद गरेको बिलसमेत देखाउन नसकेको भट्टराईले बताए । साथै उनले मास्क उत्पादन गर्ने उद्योगको समेत उपमहानगरपालिकाले अनुगमन गर्ने बताए ।
अनुगमन टोलीमा सहभागी जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले मास्कका साथै सेनिटाइजरको मूल्यमा समेत व्यवसायीले अनियमितता गर्ने गरेको पाइएको बताए । उनका अनुसार ९० रुपैयाँमा खरिद गरिएको सेनिटाइजर एक सय ६५ रुपैयाँसम्ममा बिक्री गरेको टोलीले फेला पारेको थियो । अनुगमन टोलीको नेतृत्व गरेकी उपमेयर गौतमले ६ ओटा पसलमा टोलीले अनुगमन गरेको बताउँदै अधिकांश पसलहरुमा मास्क र सेनिटाइजरमा कालोबजारी गरिएको पाइएको बताइन् । उपमहानगरपालिकाले नियमित रुपमा बजारको छड्के अनुगमन गरिरहेको बताउँदै केही दिनअघि मात्र किराना पसलहरुको अनुगमन गरिएको र आज औषधि पसलहरुमा मास्क र सेनिटाइजरको मूल्यलाई नै केन्द्रविन्दुमा राखेर अनुगमन गरिएको जानकारी दिइन् । बजारमा भइरहेको कालोबजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिने बताउँदै उनले कानूनविपरीत बढी मूल्य लिने पसल तथा व्यवसायीहरुलाई कानून बमोजिम कडा कारबाही गरिने प्रष्ट पारिन् ।