इटहरीः आज नेपालमा आठ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संख्या हालसम्मकै सर्वाधिक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा आज गरिएका २० हजार सात सय ५६ पीसीआर परीक्षणबाट आठ हजार ६ सय पाँच जना तथा ६ सय १६ एन्टिजेन परीक्षणबाट ५४ जना गरी आठ हजार ६ सय ५९ संक्रमितको पहिचान भएको हो । यससँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको कुल संख्या तीन लाख ५९ हजार ६ सय १० पुगेको मन्त्रालयको तथ्याङ्क छ ।
आज देशभर एक हजार नौ सय ९३ जना संक्रमित निको भएका छन् । हाल देशभर ६६ हजार तीन सय ५२ जना सक्रिय संक्रमित रहेका छन् भने ५८ जना संक्रमितले आज ज्यान गुमाएका छन् । यससँगै देशभर मृतक संक्रमितको कुल संख्या तीन हजार चार सय ७५ पुगेको छ ।