इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित निजी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि निश्चित संख्यामा शैय्या छुट्याउन प्रस्ताव गरेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण तिव्र गतिमा फैलँदै गएको र इटहरी क्षेत्रमा मानवीय क्षतिसमेत हुन पुगेको हुँदा संक्रमणको रोकथाम तथा संक्रमितको प्रभावकारी उपचारका लागि निजी क्षेत्रसँग सहकार्यको प्रस्ताव गरिएको उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार मेयर द्वारिकलाल चौधरीसमेतको उपस्थितिमा आज इटहरी क्षेत्रका चार निजी अस्पतालका प्रतिनिधिसँग सहकार्यका लागि छलफल गरिएको हो । छलफलमा सहभागी अस्पतालका प्रतिनिधिहरु उपमहानगरपालिकाको प्रस्तावप्रति सकारात्मक रहेकोसमेत उपमेयर गौतमले बताइन् । उनका अनुसार अस्पतालका प्रतिनिधिहरुले आ आफ्ना सञ्चालक समितिमा उपमहानगरपालिकाको प्रस्तावबारे छलफल गरी भोलि पुनः उपमहानगरपालिकासँग छलफलमा जुट्ने आश्वासन दिएका छन् ।

hospital meeting1

छलफलमा सहभागी वेदान्त अस्पताल प्रा.लि.का सञ्चालक इन्द्रबहादुर श्रेष्ठले उपमहानगरपालिकाको प्रस्ताव अनुसार कोरोना संक्रमितका लागि आफूहरुसँग भएको सम्पूर्ण उपचार सेवा प्रदान गर्न आफूहरु तयार रहेको बताए । उनका अनुसार तत्काल कोरोना संक्रमितकै लागि छुट्टै वार्डको व्यवस्था नभएपनि सोको व्यवस्था गर्न सकिन्छ । तर, आईसीयू र भेन्टिलेटरको सुविधा भने आफूहरुसँग नभएको बताउँदै उनले त्यसको व्यवस्था गर्न भने तत्काल नसकिने बताए । आईसीयू र भेन्टिलेटरको व्यवस्थाका लागि कम्तिमा पनि चारदेखि पाँच महिनाको समय लाग्ने उनको भनाइ छ । कोरोना संक्रमितलाई उपचार सेवा प्रदान गरेपनि शुल्क भने बिरामी स्वयंले नै व्यहोर्नुपर्ने भन्दै उनले उपमहानगरपालिकाले निःशुल्क उपचारका लागि समन्वय गरे आफूहरुले सेवा प्रदान गर्ने बताए ।

hospital meeting3 hospital meeting2