कोरोनाको महामारीबाट सुनसरीका नागरिकलाई बचाउन जुट्यो डीसीसीएमसी, आइसोलेसन सेन्टरमा सेनाको सुरक्षा
वैशाख २२, २०७८
प्रदेश पोर्टल
इटहरीः कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहर सुरु भएसँगै सोको नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र सुनसरीले संक्रमण नियन्त्रणकै लागि थप निर्णयहरु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा आज बसेको केन्द्रको बैठकले जिल्लाका विभिन्न स्थानीय तहहरुले निर्माण गरेका आइसालेसन सेन्टरको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । उनका अनुसार वैशाख १६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार केन्द्रले आइसोलेसन केन्द्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने र प्रहरीलाई समन्वयकर्ताको भूमिकामा राख्ने निर्णय गरेको हो ।
यसैगरी, सोही होम आइसोलेसन वा अस्पतालमा रहेका संक्रमितको कन्ट्याक्ट ट्रेसिङलाई तिव्रता दिने, रामधुनी नगरपालिकालाई आइसोलेसन केन्द्र सञ्चालनका लागि कृषि तालिम केन्द्रको भवन उपलब्ध गराउन केन्द्रलाई आग्रह गर्ने तथा भारत तथा नेपालका विभिन्न ठाउँबाट आएका व्यक्तिहरुको स्थानीय तहले निगरानी राख्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।