इटहरीः अहिले कोरोना महामारीले गर्दा अक्सिजन अपरिहार्य कुरा बनेको छ । कोभिड १९ अर्थात् कोरोना भाइरसको संक्रमण बढेसँगै छिमेकी देश भारतमा अक्सिजनकै अभावमा धेरैले ज्यान गुमाइरहेका छन् ।

यसले गर्दा नेपालमा पनि अक्सिजन अभाव हुने हो कि भन्ने आम सर्वसाधारणलाई लाग्ने गरेको छ । यसका साथै सामाजिक सञ्जालमा हुने विभिन्न प्रचारले पनि सबैलाई अक्सिजनको समस्या हुने हो कि भन्ने कुराले घचघच्याउन थालेको छ । सरकार पनि यो कुरामा गम्भीर बन्दै गएको छ । तर, सुनसरीको इटहरीमा भने अक्सिजन अभावको समस्या नआउने देखिएको छ । इटहरी उपमहानगरपालिकामा नै दुई वटा अक्सिजन उद्योग सञ्चालनमा रहेकाले अक्सिजनको अभाव नहुने देखिएको हो । अहिले इटहरीको रंगशालमा ५० बेडको आइसोलेसन बन्ने प्रकृया अन्तिम चरणमा पुगेको छ । त्यसमा पनि उपमहानगरले १० बेड भने अक्सिजन सहितको बनाउने घोषणा गरेको छ । यसका साथै होम आइसोलेसनमा रहेका बिरामीहरुलाई पनि अक्सिजनको खाँचो हुने देखिन थालेको छ । इटहरीमा निकट भविष्यमा नै अक्सिजन धेरै मात्रामा चाहिने भएपछि अक्सिजन उत्पादन गर्ने उद्योगकको अवस्था के छ भनेर उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले आज निरीक्षण गरेकी छन् ।

1 (1) 1

सो क्रममा इटहरी उपमहानगरमा दुई वटा अक्सिजन उत्पादन गर्ने उद्योग रहेको पुष्टि भएको छ । ती उद्योगले इटहरीमा हुने अक्सिजनको अभावलाई धान्न सम्भव हुने निरीक्षणका क्रममा पाइएको उपप्रमुख गौतमले बताइन् । इटहरीमा दुर्गा अक्सिजन उद्योग र पाथीभरा अक्सिजन उद्योग प्रा.लि. ले अक्सिजन उत्पान गर्दै आएको पाइएको र यीनीहरु इटहरीको माग धान्न सक्षम रहेको उनले बताइन् । ‘कोभिडले गर्दा मान्छेहरुले घरघरमा अक्सिजन स्टक राख्न थालेपछि अक्सिजन अभाव हुने हो कि भन्ने एक खालको त्रास छ । यहाँ रहेको उद्योगमा निरन्तर अक्सिजन उत्पादन भइरहेको छ । कतिपय अक्सिजन त खपत हुन नसकेको अवस्था रहेछ’, उनले भनिन् । यी दुई उद्योगले निरन्तर अक्सिजन उत्पादन गर्ने हुँदा इटहरीमा अभाव नहुने भन्दै उनले अनावश्यक रुपमा त्रासित नहुन पनि आग्रह गरिन् । ‘अहिले कोरोना नलागेको व्यक्तिले पनि अक्सिजन लगेर राखेको पाइएको छ । यसले अक्सिजन आवश्यक हुनेले नपाउने अवस्था हुनसक्छ । इटहरीमा आवश्यक अक्सिजन छ । त्यसैले उहाँहरुलाई म त्यसरी नराख्न अनुरोध गर्छु’, उपप्रमुख गौतमले भनिन् । अहिले इटहरीमा पनि यसरी अक्सिजन राख्नाले सिलिन्डरको अभाव देखिन थालेको उनले बताइन् ।

यसले भविष्यमा झन् संकट आउनसक्ने उनको भनाइ छ । दुवै उद्योगका सञ्चालकहरुले पनि आफूहरु २४ घण्टा आवश्यक अक्सिजन आपूर्तिका लागि तयार रहेको बताएका छन् । अक्सिजनको अभाव नभए पनि अक्सिजनको लागि आवश्यक सिलिन्डरको भने अभाव हुन सक्ने दुर्गा अक्सिजन उद्योगका सञ्चालक आशीष मित्तलले बताए । साथै उनले अनुगमनमा रहेकी गौतमलाई बाहिर रहेका सिलिन्डर ल्याउन आवश्यक समन्वय गर्न पनि अनुरोध गरे । ‘हामी इटहरीवासीलाई राति १२ बजेसम्म बसेर पनि माल (अक्सिजन) दिन्छौँ । अहिले हाम्रो इन्टेन्सन पैसा कमाउने छैन’, उनले भने, ‘तर हाम्रा एक सय १० सिलिन्डर अरुण तेश्रोमा रोकिएका छन् । त्यस्तै अन्य सिलिन्डर पनि होल्ड भएका छन् । ती फिर्ता भए इटहरीमा अक्सिजन अभाव हुँदैन ।’

3 (1) 1

 

यता, पाथीभरा अक्सिजन उद्योग प्रा.लि.का सञ्चालक हेमन्त सिंले अक्सिजन निर्वाध रुपमा उत्पादन भइरहेको बताए । यसका साथै उनले पनि इटहरीमा कुनै समस्याबिना आफूहरु अक्सिजन दिन तत्पर रहेको पनि बताए । अहिले यस उद्योगबाट उत्पादन भएको प्रति गोटा अक्सिजन सिलिन्डरको मूल्य १० हजार रुपैयाँ तोकिएको छ । अक्सिजनको मूल्य सानोको तीन सय र ठूलोको ६ सय हो । तर, सिलिन्डरको धरौटीस्वरुप १० हजार रुपैयाँ लिने गरेको सञ्चालकहरुको भनाइ छ । धरौटी बापतको रकम भने सिलिन्डर फिर्ता गरेसँगै फिर्ता हुने उनीहरुको भनाइ छ ।