इटहरीः कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण व्यापक रुपमा फैलन थालेपछि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभर पूर्ण रुपमा निषेधाज्ञा जारी गरेको छ ।

आइतबार मध्यरातिदेखि जारी आंशिक निषेधाज्ञा संक्रमण नियन्त्रणमा फलदायी नभएपछि आज मध्यरातिबाट लागु हुनेगरी वैशाख ३१ गते मध्यरातिसम्म पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । उनका अनुसार पूर्ण निषेधाज्ञा अवधिमा जिल्लाभित्र अत्यावश्यकबाहेकका कुनैपनि सवारी साधन तथा बजार, पसल सञ्चालन गर्न पाइनेछैन ।

यसअघि जारी गरिएको आंशिक निषेधाज्ञा अवधिमा जोर बिजोर प्रणाली अनुसार जोर गते जोर र बिजोर गतेका दिन बिजोर नम्बरका सवारी सञ्चालन गर्न अनुमति दिइएको थियो । मंगलबार राति बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको प्रजिअ तिम्सिनाको भनाइ छ । सडक आवागमनमा कडाइ गर्न नसक्दा जिल्लाभर हालसम्म सात सय ४१ जनामा कोरोना संक्रमण विस्तार भइसकेको छ ।