इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा कार्यान्वयनमा अवरोध पुर्याउने व्यवसायीलाई कारबाही गर्न थालेको छ ।

निषेधाज्ञा सुरु भएयता सोमबारसम्म मात्र प्रहरीले ९४ जना व्यवसायीलाई निषेधाज्ञा उल्लङ्घन गर्दै व्यवसाय सञ्चालन गरेको आरोपमा नियन्त्रण लिई दुई घण्टा सडकमा उभ्याएर छोडेको कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीले बताए । उनका अनुसार निषेधाज्ञा उल्लङ्घन गर्ने व्यवसायीमध्ये तीन जनालाई जरिवाना भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालयसमक्ष पेस गरिएको छ । जिल्ला प्रशासन कार्यालयले वैशाख १८ गतेदेखि लागु हुनेगरी जारी गरेको निषेधाज्ञा सोको भोलिपल्टै उल्लङ्घन भएको पाइएपछि १९ गते प्रहरीले ४५ जना व्यवसायीलाई नियन्त्रणमा लिई दुई घण्टा होल्ड गरी छोडेको थियो ।

त्यसैगरी, निषेधाज्ञाको तेस्रो दिन ३१ र चौथो दिन १८ जना व्यवसायीलाई नियन्त्रणमा लिई होल्ड गरिएको डीएसपी केसीले बताए । निषेधाज्ञा जारी भएयता सोमबारसम्म चार सय २९ वटा मोटरसाइकल, ३३ वटा तीन पाङ्ग्रे्रे र १४ वटा निजी चार पाङ्ग्रे सवारीसमेत होल्ड गरी सचेत गराई छोडिएको प्रहरीले जनाएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट सहितको दोस्रो लहर सुरु भएसँगै जिल्लामा संक्रमणको दर उच्च भएपछि संक्रमणको विस्तार नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।